सेयर बजारमा पहिरो, घट्दो बजारमा पनि यी ४ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गतसाता करिब ४८ अंकले घटेको बजार यससाता एकैदिन ५१ अंकले घटेको हो ।

 

पछिल्लो केही साता यता सूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा पछिल्लो दुई सातामै घटेर ५ अर्बमा सीमित भएको छ ।

 

सूचक र कारोबार रकम दुवै निरन्त घट्न थालेपछि लगानीकर्ता झनै निराशावादी हुन थालेका छन् । बजारलाई खास प्रभाव पार्ने कुनै नीतिनियममा परिवर्तन नभएपनि राजनीतिक अस्थिरताका कारण लगानीकर्ता हतोत्साहित हुँदै गएको आकलन गरिएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २११ कम्पनीको ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँ बराबरको ९९ लाख ३ हजार ७०४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र होटल तथा पर्यटन समूह् बाहेक बाँकी ११ समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै ६१.१२ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४५३.९ अंकले घटेको छ ।

 

कारोबारमा आएका २११ कम्पनीमध्ये २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४४ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रस्ट्रक्चर बैंक २७ करोड र नबिल बैंक २० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा हिमालयन पावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

अब साउदी अरबमा विदेशी कामदारले आफूखुसी काम परिवर्तन गर्न पाउने Read Previous

अब साउदी अरबमा विदेशी कामदारले आफूखुसी काम परिवर्तन गर्न पाउने

चाँडै लण्डनमा रेष्टुरेन्ट खोल्दैछु, त्यहीँबाट नेपाली खाना विश्वभर चिनाउने छु : सेफ सन्तोषको अन्तर्वार्ता Read Next

चाँडै लण्डनमा रेष्टुरेन्ट खोल्दैछु, त्यहीँबाट नेपाली खाना विश्वभर चिनाउने छु : सेफ सन्तोषको अन्तर्वार्ता