काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । सम्झौता भएको साढे ३ महिनापछि पहिलो चरणको मल मंगलबार नेपाल आइपुगेको हो ।
रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा २ हजार ५०० टन मल भन्सार आइपुगेको हो ।
भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल सरकार र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जीटुजी) सम्झौताअनुसारको पहिलो चरणको रासायनिक मल नेपाल आइपुगेको हो ।
बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो चरणमा कोलकातामा २२ हजार ५०० टन रासायनिक मल ल्याइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार कोलकाताबाट रेल तथा ट्रकमार्फत नेपालमा ल्याईनेछ ।
गत बिहीबार कोलकाताबाट ६ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए। यसैगरी मंगलबार पुनः रेलमा २ हजार ५०० टन मल नेपालका लागि हिडिसकेको छ । रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।
बङ्गलादेशसँग प्रति मेट्रिक टन २५९.१९ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार कृषि सामग्री कम्पनीबाट रासायनिक मल खरीदको अन्तिम सम्झौताअुनसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलरमा सम्झौता भएको हो ।
जीटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअुनसार कृषि सामग्री कम्पनीले मल खरीदको तयारी गरेको थियो ।
तयारीस्वरुप गत पुस २ गते जीटुजी प्रक्रियामार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।
कृषि सागम्री कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।