काठमाडौं । सिभल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित गरेको छ । बैंकको आइतबार भर्चुयल माध्यमबाट सम्पन्न दशौं साधरण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिएको हो ।
साथै, बैंकको सभाले आव २०७७/७८ को लेखा परीक्षण गर्न एनबीएसएम एण्ड एशोसियट्लाई लेखापरीक्षकमा पुनः नियुक्त गरेको छ ।
यस्तै, सभाले सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
बैंकले हाल देशभरका ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।