माथिल्लो तामाकोशी सेयर मूल्यमा एकाएक किन आयो उछाल ? यस्तो छ कारण

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा आइतबार उछाल आएको छ । लामो समयसम्म सामान्य घट/बढ भइरहेको कम्पनीको सेयर मूल्यमा आइतबार एकाएक उछाल आउँदा पोजेटिभ सर्किट अर्थात् भाउ १० प्रतिशतले बढेको छ ।

 

आज तामाकोशीको सेयर मूल्य प्रतिकित्ता ४९ रुपैयाँले बढेर ५३९ रुपैयाँ पुगेको छ । बिहीबार प्रतिकित्ता ४९० रुपैयाँ रहेको तामाकोशी सेयर मूल्य आज बजार खुल्नसाथ १० प्रतिशतले बढेको हो । दिउँसो साढे १ बजेसम्म कम्पनीको साढे २ लाखभन्दा बढी कित्ता सेयरको माग भए पनि विक्रीकर्ता भने शून्य रहेका छन् ।

 

देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको तामाकोशीको जलविद्युत् आयोजनाको टर्बाइनमा पानी खसाल्ने पाइप (बाइफर्केसन डिस्ट्रिब्युसन) को परीक्षण सफल भएपछि लगानीकर्ता उत्साहित हुँदा सेयर मूल्यमा उछाल आएको हो ।

 

आयोजनाले गत हप्तादेखि बाइफर्केसन डिस्ट्रिब्युसनको परीक्षण शुरु गरेको थियो भने शनिबार परीक्षण सफल भएको जानकारी गराएको छ ।

 

आयोजनाको सबैभन्दा जटिल र संवेदनशील मानिएको यो पाइपको परीक्षण सफल भएपछि चैतभित्र बिजुली बाल्न सकिने आयोजनाले जनाएको छ । अब छिट्टै बिजुली निकालिने सम्भावना बढेसँगै लगानीकर्ता कम्प्नीको सेयरप्रति आकर्षित भएका छन् ।

 

आयोजनाको विद्युत्गृहमा ७६ मेगावाटका ६ वटा टर्बाइन रहेको छन् । ती मध्ये एउटा टर्बाइनबाट आगामी चैत्रभित्र बिजुली निकालिने आयोजनाले जनाएको छ ।

 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी निर्माण शुरु भएको १ दशक बिते पनि अझै निर्माण पूरा हुन सकेको छैन । भूकम्प, कामदार अभाव, निर्माण सामग्रीको अभाव, ठेकेदारको ढीलासुस्ती र लापारबाही लगायत कारणले आयोजनाको कामले गति लिन नसकेको हो ।

 

शुरुवाती समयमा करिब ३५ अर्ब लगानीमा निर्माण हुने भनिए पनि अहिले आयोजनाको लागत बढेर दोब्बर भइसकेको छ भने अझै कति बढ्ने हो भन्ने निश्चित छैन ।

विश्वका ठूला कम्पनीले आँखा लगाएपछि बिट क्वाइनको मूल्य छोइनसक्नु, पूँजीकरण ट्रिलियन डलर पुग्यो Read Previous

विश्वका ठूला कम्पनीले आँखा लगाएपछि बिट क्वाइनको मूल्य छोइनसक्नु, पूँजीकरण ट्रिलियन डलर पुग्यो

सिभिल बैंकको लाभांश पारित, अन्य बैंकसँग मर्ज गर्न स्वीकृति Read Next

सिभिल बैंकको लाभांश पारित, अन्य बैंकसँग मर्ज गर्न स्वीकृति