काठमाडौं । चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनको कुल बजार पूँजीकरण १ ट्रिलियन डलर पुगेको छ । गत शुक्रबार फेरि ‘रेर्कड हाइ’ले बढेपछि बिटक्वाइनको बजार पूँजीकरणले १ ट्रिलियन डलरको उचाइ चुमेको हो ।
विश्वकै सबैभन्दा चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिले प्रति युनिट ५६ हजार ६२० डलर पुगेको छ । गत हप्ता मात्र यसको मूल्य १८ प्रतिशतले बढेको थियो भने चालू वर्ष मात्र यसको मूल्य ९२ प्रतिशतले बढिसकेको छ ।
पछिल्लो १ वर्षमै बिटक्वाइनको मूल्य ११ गुणभन्दा धेरै बढिसकेको छ । सन् २०२० को मार्चम १ टिक्वाइनको मूल्य ५३४२ डलर रहेकोमा अहिले बढेर ५६ हजार ६२० डलर पुगिसकेको छ । अझै यसको मूल्य तीव्र गतिमा बढ्ने संकेत देखिएको छ ।
मूलधारका ठूला लगानीकर्ता र कम्पनीहरुको आँखा यसमा पर्न थालेपछि पछिल्लो समय बिटक्वाइनको मूल्यमा उछाल आउन थालेको हो । पछिल्लो समय टेस्ला, मास्टरकार्ड र बिएनवाइ मेलन जस्ता कम्वनीले बिटक्वाइनमा आफ्नो लगानी बढाएका छन् । हाल विश्वको सबै क्रिप्टोकरेन्सीहरुको कुल बजारीकरण १.७ ट्रिलियन डलर पुगेको छ ।
अब मानिसहरुले बिटक्वाइनमा मूल्य स्टोर हुन्छ भनेर साँच्चिकै विश्वास गर्न थालेभने यसको मूल्यले अझै आकाश हुने जानकारहरु बताउन थालेका छन् ।
अहिले मूल्य स्टोर हुन्छ भनेर धेरै मानेको धातु भनेको सुन हो । अहिले सुनको कुल बजार पूँजीकरण ९ देखि १० ट्रिलियन डलर पुगेको छ । अब बिटक्वाइनको मूल्य अझै ४ गुणाले बढेपनि सुनको कुल बजार पूँजीकरणको आधा मात्र हुने देखिन्छ । त्यसैले बिटक्वाइनको मूल्य अझै कति बढ्ने हो कुनै आंकलन नै गर्न नसकिने जानकारहरु बताउन थालेका छन् । यसको मूल्यमा तीव्र उतारचढाव आउने भए पनि अझै केही समय बुलिस ट्रेण्डमै रहने उनीहरुको विश्वास छ ।