काठमाडौं । फितलो सरकारी अनुगमनको फाइदा उठाउँदै व्यापारीहरुले मनोमानी भाउ बढाउँदा दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन आकाशिँदै गएको छ ।
भाउ बढ्नु पर्ने खास कारण केही नरहे पनि व्यापारीहरुले राजनीतिक अस्थिरताको मौकाछोपी मनलाग्दी भाउ बढाएका हुन् । दैनिक उपभोग्य वस्तुहरु दाल, चालम, तेल, गेडागुडी, घ्यू, तेल, फलफूल लगायत वस्तुको मूल्य १७ प्रतिशतसम्म बढेको छ ।
तथ्यांकमा महँगी नियन्त्रमै रहेको देखाइए पनि व्यवहारमा भने ठीक उल्टो रहेको छ ।नेपाल राष्ट्र बैंकले समग्र मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको बताए पनि उपभोग्य वस्तुको मूल्य भने दैनिकजसो आकाशिँदै गएको छ ।
पुस महिनामा उपभोक्ता मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा आधाले घटेको देखाएको छ । नेपाल राष्ट्र बैंक्को तथ्यांकले यस वर्ष पुस महिनामा मुद्रास्फीति घटेर ३.५६ प्रतिशतमा कायम रहेको देखाएको छ । जबकी गत पुसमा भने उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेको थियो । यद्यपी नेपाली जनताले उपयोग गर्ने दैनिक उपभोग्य वस्तुको मूल्य भने १७ प्रतिशतसम्मले महँगिएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ४.२७ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा तराईमा सबैभन्दा कम २.८७ प्रतिशत, काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मुद्रास्फीति रहेको छ ।
यसैगरी २०७७ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पनि घटेको छ । गत पुसमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.८८ प्रतिशत रहेकोमा यस वर्षको पुसमा भने ६.१८ प्रतिशत मात्रै रहेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यस पुसमा १.७ प्रतिशतले वार्षिक मुद्रास्फीति घटेको हो । समीक्षा महिनामा उपभोग्य वस्तु ६.२८ मध्यवर्ती वस्तु ६.६५ र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि ३.२० प्रतिशत रहेको छ ।
तर जनताले उपभोग गर्ने दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च भईरहँदा कर्मचारी तथा मजदूरले पाउने तलब तथा ज्यालादरमा भने उच्च गिरावट आएको छ । २०७७ पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक १.७२ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक १०.०४ प्रतिशतले बढेको थियो । राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले केही शहरी क्षेत्रमा मूल्यवृद्धि बढी भएर ग्रामीण भागमा सस्तिएको अवस्थामा पनि मुद्रास्फीति (औसत मूल्यवृद्धिको दर) कम देखिने बताउँछन् ।
एक महिनामा तरकारीको मूल्य भने सस्तियो
राष्ट्र बैंकले गत मंसिरको तुलनामा पुसमा तरकारीको मूल्य २२ प्रतिशत सस्तिएको प्रतिवेदन सार्वजनिक गरेको छ । हिउँद लागेसँगै आलु, काउलीलगायत अधिकांश तरकारीको भाउ घटेको राष्ट्र बैंकको अध्ययनमा देखिएको छ । मंसिरमा १ सय रुपैयाँले जति तरकारी किन्न सकिन्थ्यो, पुसमा त्यति नै तरकारी किन्न ८८ रुपैयाँले पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास केन्द्रका सूचना अधिकारी विनय श्रेष्ठले तरकारीको मूल्य घटेको बताए । उनले मौसम अनुसार उत्पादन बढि भएकाले मूल्यमा गिरावट आएको बताए । पछिल्लो समय भारतबाट समेत आयात बढि रहेको छ ।
उनले आयात बढ्नु र उत्पादन बढेका कारण मूल्यमा गिरावट आएको बताए ।। ‘तरकारी उत्पादन हुने यो मौसम नै हो, आयात पनि उस्तै भइरहेको छ, आयातित कम्पिटीसन गर्न पनि आन्तरिक उत्पादनमा मूल्य घटाइएका छन्,’ श्रेष्ठले भने ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत पुस महिनको तुलनामा भन्दा यस पुसमा तरकारीको मूल्य ८ प्रतिशतले सस्तिएको छ । यसले अधिकांश सहरी क्षेत्रका बासिन्दाको भान्सामा हुने खर्च कम भएको राष्ट्र बैंकको दाबी छ ।