भ्यालेन्टाइन डेमा सौराहा घुम्नेको घुइँचो, सबै होटल भरिभराउ

चितवन । पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो ।

 

रेष्टुरेन्ट एण्ड बार एसोशिएसन (रेबान) सौराहाले यही अवसरमा खाद्य महोत्सवको समेत आयोजना गरेको छ । रेबानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्मको ६०० मिटर सडक किनारमा विभिन्न परिकारका कक्ष राखिएका छन् । दुईदिने महोत्सव आजसम्म जारी रहनेछ । महोत्सवका अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन् ।

 

यस्तै ती जातिले सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिरहेका छन् । उनका अनुसार आज ब्राह्मणसहित विभिन्न जातिका नौ जातीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् ।

 

थारु, तामाङ, कुमाल, मगर, नेवारलगायत जातिले आआफ्ना संस्कृति झल्कने प्रस्तुति देखाउने छन् । अध्यक्ष गिरीले भने, ‘अन्य व्यवसायी पनि उत्साहित भएका छन् ।’ सबैले यस्ता कार्यक्रम हरेक शुक्रबार गर्न सुझाएको उनले बताए । स्वीकृति पाएमा रेबानले हरेक हप्ता कार्यक्रम गर्ने उनको भनाइ थियो ।

 

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार सौराहाका सबै होटल भरिएका थिए । देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक घुम्न आएका छन् । समूहगतरुपमा घुम्न आउनेको सङ्ख्या पनि राम्रो रहेको उनको भनाइ छ ।

 

सङ्घका अध्यक्ष दीपक भट्टराईले आज पनि सौराहाका सबै होटल भरिने अपेक्षा गरिएको बताए। उनले भने, ‘लगातार बिदा र त्यसपछि परेको प्रणय दिवसले सौराहा भरिएको छ ।’

 

अंग्रेजी नयाँ वर्षको दिनपछि शनिबार सबैभन्दा बढी पर्यटक सौराहा आएको उनको भनाइ छ । पर्यटकको सङ्ख्या बढेसँगै अन्य पर्यटकीय गतिविधि पनि चलायमान भएको छ । हात्ती सफारी, डुङ्गा शयर, जीप सफारी, थारु सांस्कृतिक प्रदर्शनीसँगै अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको छ । राति अबेरसम्म सौराहाका राप्ती नदी किनारका रेष्टुरेन्टमा पर्यटक रमाउने गरेका छन् ।

 

सौराहामा ५ हजार ५०० पर्यटकलाई एकैपटक राख्नसक्ने क्षमता रहेको छ । यहाँ १२० होटल र करीब १०० वटा रेष्टुरेन्ट सञ्चालनमा छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्छन् ।

 

विशेष पर्वमा भने सौराहा घुम्नका लागि मात्रै पनि पर्यटक आउने गर्दछन् । देशकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा चितवन रहेको छ । रासस

रिचार्जरको भ्यालेन्टाइन अफर, ५९९९ रुपैयाँमा पोखरा हेलिराइड Read Previous

रिचार्जरको भ्यालेन्टाइन अफर, ५९९९ रुपैयाँमा पोखरा हेलिराइड

तथ्यांकमा महँगी घट्दै, बजारमा भने दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिँदै Read Next

तथ्यांकमा महँगी घट्दै, बजारमा भने दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिँदै