काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । गत बिहीबार करिब १७ अंकले घटेको बजारमा यस साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको हो ।
नेप्सेमा लगातार दोहोरो अंकको गिरावट आएको दोस्रो दिन हो । बजार खुलेको केही बेरपछि नै आरोलो लागेको बजार दिनरभर राताम्मे भएर बन्द भएको छ ।
नेप्से सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै गिरावट आएको छ । गतसाता औसतमा ९ अर्बको कारोबार हुँदै आएको यससाता घटेर ७ अर्बमा आएको छ ।
प्रफिट बुक गर्ने हबी हुँदा बजारमा करेक्शन आएको आकलन गरिएको छ । साथै, नेपाल राष्ट्र बैंकले यही साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत सेयर कर्जा सीमामा कडाइ गर्ने हल्ला बाहिरकाले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजारमा गिरावट आएको हो ।
आज सेयर बजार मापक सूचक नेप्से ३३.३३ अंकले घटेर २४९३.५९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०२ कम्पनीको ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १२ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूह राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २३३.१८ अंकले घटेको छ ।
कारोबारमा आएका २०२ कम्पनीमध्ये जम्मा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ताको रोजाइमा नेको इन्स्योरेन्स परेको छ । यसको सबैभन्दा धेरै ५२ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल बैंक ३६ करोड र नेपाल टेलिकम २३ करोडसहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज नेपाल इन्फ्रास्ट्रकचर बैंकको सेयरमा मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजदेखि नै कारोबारमा आएको बैंकको सेयरप्रति लगानीकर्ता आकर्षित हुँदा मूल्यमा सर्किट ब्रेक लागेको हो । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत नाफा कमाएका छन् ।
घट्दो बजारमा आज सर्पोट र स्वाभिमान माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढीले घटेको छ ।