नेपाल लाइफको ‘सेयर स्प्लीट’ प्रस्ताव पारित, अब सेयर संख्या दोब्बर हुने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर स्प्लीट प्रस्ताव पारित भएको छ । कम्पनीको बुधबार वीरगञ्जमा सम्पन्न २० औं वार्षिक साधरण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

 

उक्त प्रस्ताव पारित भएसँगै अब कम्पनीको सेयर संख्या दोब्बर हुनेछ भने प्रतिकित्ता फेस भ्यालू १०० रुपैयाँबाट घटेर ५० रुपैयाँ कायम हुनेछ । यद्यपि, सभाले सेयर स्प्लीट प्रस्ताव पारित गरे पनि नियामक निकायले स्वीकृति दिए मात्रै उक्त कुरा कार्यान्वनमा जानेछ ।

 

यस्तै, सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्ताव गरेको ५१ प्रतिशत लाभांश पनि पारित गरेको छ । कम्पनीले उक्त आवको नाफाबाट ३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २० प्रतिशत गरी कुल ५१ प्रतिशत लाभांश दिएको छ । बोनश सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ हुनेछ ।

 

यस्तै, सभाले आव २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।

 

सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचनबाट विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

 

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि आगामी दशकको अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

 

कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको छ । सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानी गर्ने तर्फ ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको छ ।

 

हाल यस कम्पनीको लगानी १०५.५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,६९,४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २०० शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

 

यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, केमा कति रुपैयाँ बढ्यो ? Read Previous

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, केमा कति रुपैयाँ बढ्यो ?

डेप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति Read Next

डेप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति