काठमाडौं । निजी वायु सेवा कम्पनी बुद्ध एयरले अब दैनिक १०० वटा उडान गर्ने भएको छ । हवाइ यात्रुको माग बढ्दै गएपछि बुद्धले आफ्नो सेवा विस्तार गर्न लागेको हो ।
विगत २३ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको बुद्ध एयरको बजारमा ६० प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ । यस कम्पनीले महिनामै १ लाख ३० हजार यात्रु बोक्दै आफ्नो सेवा प्रदान गरेको कम्पनीको बजार तथा विक्री निर्देशक रुपेश जाशीले बताए । अन्य एयरलाइन्सभन्दा बढी यात्रु बोक्ने बुद्ध एयर पछिल्लो समय सबैभन्दा धेरै बजार हिस्सा ओगट्दै अघि बढेको उनको भनाइ छ ।
हालसम्म दैनिक ९० वटा उडान हुने गरेकोमा बुद्ध एयरले आफ्नो उडान थप गरेको छ । कम्पनीका अनुसार बुद्ध एयरले १० वटा उडान थपगरी दैनिक १०० उडान गर्ने भएको हो । यसरी यात्रुको रोजाइमा पहिलो नम्बरमा परेको बुद्धले अक्रमक रुपमा बजार विस्तार गर्ने भएको हो ।
बुद्ध एयरमा यात्रा गर्ने यात्रुको सङ्ख्या बढेसँगै कम्पनीले आफ्नो सेवा विस्तार गर्ने योजना अघि बढाएको जाशी बताउँछन् । ‘हालसम्म १४ वटा हवाइजहाज मार्फत बुद्धले हवाइ सेवा दिँदै आएको छ,’ जोशी भन्छन्, ‘अब ३ वटा हवाइजहाज थप गर्दै १७ वटा हवाइजहाज मार्फत दैनिक १०० उडान गर्ने भएका छौं । हाल कम्पनीसँग ९ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा वीचक्राफ्ट गरी १४ जहाज छन् ।’
कम्पनीले पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५ उडान गर्ने भएको छ । त्यस्तै जनकपुर, नेपालगञ्ज र धनगढीका लागि दैनिक ४ उडान गर्ने तयारी छ । अन्य स्थानका लागि यात्रुको चाप हेरेर उडान विस्तार गर्ने तयारि रहेको कम्पनीको भनाइ छ ।
हाल बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा दैनिक उडान गरिरहेको छ ।
आन्तरिक हवाइ उडानमा सबैभन्दा अग्रपंक्तिमा रहेको बुद्ध एयरले फेब्रुअरी ७, २०२१ मा आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । जोशीका अनुसार एकै दिन बुद्ध एयरले ६ हजार यात्रुलाई सेवा प्रदान गर्दै आफ्नो पुरानो रेकर्ड तोडेको हो ।
‘आइतबार फेब्रुअरी ७ मा बुद्ध एयरले ६ हजार यात्रु बोकेको छ जोही भन्छन् यो बुद्ध एयरको इतिहासमा हालसम्मकै उच्च हो । बुद्ध एयरको मात्रै नभएर यो आन्तरिक हवाइ उडानतर्फ नै नयाँ इतिहास बनेको छ ।’ आन्तरिक उडानमा एकैदिन ६ हजार यात्रुलाई अहिलेसम्म कुनैपनि वायु सेवा कम्पनीले सेवा प्रदान गरेको छैन उनले थप बताए ।
यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै सेवा अवधारणा ल्याएको कम्पनीले जनाएको छ । कोभिड १९ का कारण शिथिल भएको हवाइ क्षेत्रलाई चलाएमान बनाउँन आक्रमक बजार बिस्तारसहित उपस्थिती जनाउने कम्पनीको दाबी छ ।
यस्तै हालसम्म विराटनगरदेखि तुम्लीङ्टारसम्मका लागि हरेक हप्ता ३ वटा उडान गर्दै आएको बुद्ध एयरले तुम्लीङटारलाई बेस बनाएर अनय स्थानमा पनि उडान गर्ने तयारी अघि बढाइसकेको छ । यसका लागि आवश्य अध्ययन नसकिएको हुँदा हाल संचालनमा आउन नसकेको जोशी बताउँछन् । अब चाँडै नै त्यसतर्फको यडान पनि संचालनमा आउने उनको दाबी छ । यद्यपी यसका लागि निश्चित मिति भने निर्धारण नभएको कम्पनी बताएको छ ।