भन्सार घट्दा चकलेट आयात दोब्बरले बढ्यो, ६ महिनामै ८ अर्बको भित्रियो

काठमाडौं । महँगा चकलेट तस्करी हुन थालेको र त्यसले भन्सार राजस्वमा नकारात्मक परेको भन्दै सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत चक्लेटमा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशत घटाएको थियो ।

 

पूर्वअर्थमन्त्री युवराज खतिवडाले यसअघि लाग्दै लाएको ४० प्रतिशत भन्सारलाई घटाएर ३० प्रतिशतमा झारेका थिए । त्यसको प्रत्यक्ष प्रभाव चकलेट आयातमा देखिएको छ ।

 

चकलेट आयातमा लगाइएको भन्सार दर घटेसँगै आयात दोब्बर भन्दा बढीले बढेको छ । चालू आर्थिक वर्षको ६ महिना (साउन–पुस)मा चकलेट आयात १३६ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

चालू आर्थिक वर्षमा कुल ८ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको चकलेट तथा चकलेट जन्य सामग्री आयात भएको छ । यो गत आर्थिक वर्ष भरी आयात भएको भन्दा ३ बढी रुपैयाँ हो ।

 

चालू आवको ६ महिनामा १४ करोड ४० लाख केजी चकलेट आयात भएको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार चकलेट आयातका क्रममा ४ अर्ब २६ करोड ८८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

 

गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा जम्मा ३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ बराबरको चकलेट आयात भएको थियो । सो रकममा २ करोड ३१ हजार केजी चकलेट आयात भएको थियो । सो अवधिमा चकलेट आयातका क्रममा १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँ बराबर राजश्व संकलन भएको थियो ।

 

गत आर्थिक वर्षमा कुल ५ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ बराबरको चकलेट आयात भएको थियो । सो रकममा ७ करोड ५५ लाख ५३ हजार केजी चकलेट आयात भएको हो । सो आयातका क्रममा ३ अर्ब रुपैयाँ बढी राजश्व संकलन भएको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ मा १० हजार ७०० मेट्रिक टन चकलेट आयात भएको थियो । उक्त सामग्री करिब ३ अर्ब रुपैयाँ बराबरको आयात भएको हो ।

 

भारतबाट मात्रै ९९ प्रतिशत चकलेट आयात

 

नेपालमा विश्वका करिब २ दर्जन बढी देशबाट चकलेट आयात हुने भए पनि अधिकांश् चकलेट भारतबाट मात्रै आयात हुने गरेको छ । विभागको तथ्यांक अनुसार करिब ९९ प्रतिशत चकलेट भारतबाट आयात भएको छ ।

 

कुल ८ अर्ब १९ करोड रुपैयाँ मध्ये ८ अर्ब रुपैयाँ बराबरको चकलेट भारतबाट मात्रै आएको छ भने विश्वका अन्य देशबाट जम्मा १९ करोड ९२ लाख रुपैयाँ बराबरको चकलेट आयात भएको छ ।

 

नेपालमा मुख्य गरी भारत, चीन, इटाली, जर्मन, यूएई, स्पेन, स्वीजरल्याण्ड, वेलायत, अमेरिका, रसिया, सिंगापुर, नेदरल्याण्ड, फिलिपिन्स, जापान, कोरिया, साउदी, कतार लगायतका विभिन्न देशरुबाट समेत चकलेटहरु आयात हुने गरेको छ ।

 

नेपालमा हाल १२० भन्दा बढी व्यावसायी फार्महरुले चकलेट आयात गर्दै आएका छन् । जसमा करिब आधाभन्दा बढी हिस्सा विशाल ग्रुपले ओट्ने गरेको छ ।

 

स्वदेशमै चकलेट उत्पादन गर्ने उद्योगहरु भए पनि भन्सार दर घटाएसँगै ती उद्योगहरु झन धराशयी हुँदै गएका छन् । सरकारले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्नु पर्नेमा उल्टै विदेशी वस्तुको आयातलाई सहज पारी स्वदेशी उद्योगलाई हतोत्साहित बनाएको व्यवसायीको भनाइ छ ।

आफ्नै देशका विश्व चर्चित व्यवसायीलाई पेल्दै चीन, ज्याक मालाई व्यवसायीको सूचीबाट समेत हटायो Read Previous

आफ्नै देशका विश्व चर्चित व्यवसायीलाई पेल्दै चीन, ज्याक मालाई व्यवसायीको सूचीबाट समेत हटायो

इतिहासकै ठूलो आइपीओ जारी गरेको इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.५४% घट्यो Read Next

इतिहासकै ठूलो आइपीओ जारी गरेको इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.५४% घट्यो