यूएईले विदेशीलाई नागरिकता दिँदै, कस्ता व्यक्तिले पाउँछन् ?

काठमाडौं । खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) ले विदेशी नागरिकलाई नागरिकता दिने भएको छ।

 

कोरोना महामारी र तेलको मूल्यको गिरावटका कारण हजारौं विदेशी नागरिक यूएई छाडेर हिँड्न थालेपछि त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो।

 

ठूलो संख्यामा नेपाली युवाहरुको बसोबास रहेको यूएईमा सरकारले ‘बौद्धिक वर्ग’लाई नागरिकता दिने नीति अवलम्बन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्

 

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले लगानीकर्ता, डाक्टर, इन्जिनीयर, कलाकार लगायतका व्यक्तिहरुलाई यूएईको नागरिकता दिइने बताएका हुन् । उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन्।

 

यसबाट यूएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको मकतुमले बताएका छन्। यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन्। युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन।

 

यूएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन्।

 

यूएई सरकारले तोकेका योग्यता पूरा भएका नेपालीहरु पनि यो सुविधाबाट लाभान्वित हुने बताइएको छ । सन् २०२० मार्चको तथ्यांकअनुसार युएईमा हाल २ लाख ७५ हजारभन्दा बढी नेपाली रहेका छन् ।

भारतीय कम्पनीले पायो ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना Read Previous

भारतीय कम्पनीले पायो ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना

काठमाडौंमा बर्ड फ्लु भेटिएपछि भारतबाट यी वस्तु ल्याउन लगाइयो पूर्ण प्रतिबन्ध Read Next

काठमाडौंमा बर्ड फ्लु भेटिएपछि भारतबाट यी वस्तु ल्याउन लगाइयो पूर्ण प्रतिबन्ध