१२ बैंक अर्बपति क्लबमा, ६ महिनामा कुन बैंकले कति नाफा कमाए ? (सूचीसहित)

काठमाडौं । कोरोनाका कारण वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । बैंकहरुले लगानी गरेको कर्जा समयमै असुल हुन नसक्दा, व्यवसाय विस्तार गर्न नसक्दा, खराब कर्जा बढ्दा नाफाबाट नै प्रोभिजन गर्दा बैंकहरुको नाफा घटेको हो ।

 

बैंकहरुले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा औसतमा २.२६ प्रतिशतले गिरावट आएको छ ।

 

पुस मसान्तसम्ममा २६ वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक बाहेक) ले कुल २९ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको सोही अवधिको भन्दा ६८ करोडले कमी हो । बैंकहरुले गत आवको पुससम्म ३० अर्ब खुद मुनाफा कमाएका छन् ।

 

समीक्षा अवधिसम्म एउटा बैंकले अ‍ैसतमा १ अर्ब १२ करोड मुनाफा कमाएका छन् । गत वर्ष यसै अवधिमा बैंकहरुले औसतमा १ अर्ब १५ करोड कमाएका थिए ।

 

२६ वटा बैंकमध्ये ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ भने सिभिल सबैभन्दा कम कमाउने बैंक बनेको छ । पुससम्म ग्लोबलले २ अर्ब ३१ करोड र सिभिलले २० करोड नाफा कमाएका छन् ।

 

१५ बैंकको नाफा घट्यो

 

चालू आवको दोस्रो त्रैमासमा २६ मध्ये १६ बैंकको नाफामा गिरावट आएको छ भने ११ वटा बैंकको मुनाफा बढेको छ ।

 

कोरोनाका कारण आर्थिक गतिविधमा सुस्ता हुँदा कर्जा विस्तार हुन नसक्दा, खराब कर्जा बढ्दा नाफाबाट नै प्रोभिजन गर्नुपर्ने भएकाले बैंकहरुको नाफामा गिरावट आएको हो ।

 

नाफा वृद्धि गर्ने बैंकहरुमा अधिकांश मर्जर गरेका तथा अन्य संस्थालाई प्राप्ति गरेका बैंकहरु छन् । गत वर्ष जनता बैंकलाई गाभेर बिग मर्जर गरेको ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । यसले समीक्षा अवधिसम्म २ अर्ब ३१ करोड खुद मुनाफा कमाएको छ ।

यस्तै, अन्य विकास बबैंक तथा फाइनान्सलाई आफूमा गाभेका एनएमबी, प्राइम कमर्शियल, मेगा, कुमारी लगायत बैंकले पनि आफ्नो नाफामा छलाङ मारेका छन् ।

 

कुनै संस्था आफूमा नगाभे पनि प्रभु, सिटिजन्स, नेपाल बंगलादेश, सनराइज र एनआइसी बैंकले भने कोरोनका बाबजूद नाफा बढाउन सफल भएका छन् ।

 

१२ बैंक अर्बपति क्लबमा

 

चालू आवको दोस्रो त्रैमाससम्म १२ बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । २६ बैंकमध्ये १६ वटा बैंकले ६ महिनामा १ अर्ब बढी खुद मुनाफा कमाएका छन् ।गत वर्ष दोस्रो त्रैमाससम्म १५ बैंकले १ अर्ब बढी नाफा कमाएका थिए ।

 

जसमध्ये ३ बैंकले २ अर्ब बढी नाफा गर्न सफल भएका छन् । ग्लोबल आइएमई, एनआइसी एशिया र नबिल बैंकले २ अर्ब बढी नाफा कमाएका छन् ।

 

यस्तै, प्राइम कमर्शियल, एनएमबी, नेपाल इनभेष्टमेन्ट र प्रभु बैंकले डेढ अर्ब बढी खुद मुनाफा आर्जन गरेका छन् । मेगा, कुमारी, नेपाल, कृषि विकास, सानिमा लगायत ९ बैंकले १ अर्ब बढी नाफा कमाएका छन् ।

 

यस्तै, एभरेष्ट, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी लगायत १२ बैंकले ५० करोडदेखि १ अर्ब कम नाफा कमाएक छन् । सेञ्चुरी कमर्शियल र सिभिल बैंकले भने ५० करोडभन्दा कम नाफा कमाएका छन् ।

 

वितरण योग्य नाफा ३ अर्ब घट्यो

 

गत वर्षको तुलनामा यस वर्ष बैंकहरुको वितरण योग्य नाफा ३ अर्बले घटेको छ । समीक्षा अवधिसम्म २६ बैंकहरुको वितरण योग्य नाफा १७ अर्ब २८ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा २० अर्ब २६ करोड रुपैयाँ थियो ।

 

चालू आवको दोस्रो त्रैमासमा ६ बैंकले मात्र वितरण योग्य नाफा बढाउन सफल भएका छन् । गत वर्षको तुलनामा ग्लोबल आइएमई, नबिल, सिटिजन्स, एनएमबी, मेगा बैंक र नेपाल बंगलादेश बैंकको वितरणयोग्य नाफा बढेको छ ।

 

समीक्षा अवधिसम्म २० बैंकको भने वितरण योग्य नाफा घटेको छ । जसमा सिद्धार्थ बैंकको भने वितरण योग्य नाफा १३ करोड ऋणत्मक रहेको छ ।

अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ, किसानको ८ करोड भुक्तानी गर्न बाँकी Read Previous

अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ, किसानको ८ करोड भुक्तानी गर्न बाँकी

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, कति कित्ता भर्ने कति पाए ? Read Next

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, कति कित्ता भर्ने कति पाए ?