अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ, किसानको ८ करोड भुक्तानी गर्न बाँकी

काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ ।

 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिए।

 

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई सर्लाही पठाइएको छ ।

 

उनका अनुसार सर्लाहीका उखु किसानले १७ रुपैयाँ करोड दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौँमा पक्राउ गरेर जिल्ला पठाइएको हो ।अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई ८ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

 

गृह मन्त्रालयको तथ्याङ्कअनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको ४ करोड ७० लाख गरी दुई चिनी मिलले २१ करोड ७० लाख बक्यौता रकम रहेको थियो ।

 

उक्त रकममध्येमा मङ्गलबार साँझसम्म अन्नपूर्णले १२ करोड ६३ लाख ७२ हजार र इन्दिराले ८३ लाख गरी १३ करोड ४६ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ ।

 

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो ।

 

उक्त सहमतिअनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगले अझै उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् ।यसअघि प्रहरीले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको थियो ।

एप्पलले गर्‍यो एकै त्रैमासमा १११ अर्ब डलर कारोबार Read Previous

एप्पलले गर्‍यो एकै त्रैमासमा १११ अर्ब डलर कारोबार

१२ बैंक अर्बपति क्लबमा, ६ महिनामा कुन बैंकले कति नाफा कमाए ? (सूचीसहित) Read Next

१२ बैंक अर्बपति क्लबमा, ६ महिनामा कुन बैंकले कति नाफा कमाए ? (सूचीसहित)