एप्पलले गर्‍यो एकै त्रैमासमा १११ अर्ब डलर कारोबार

काठमाडौं । बजार पूँजीकरणको हिसाबले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १११.४ अर्ब डलरको कारोबार गरेको छ ।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आइफोनको अत्याधिक विक्रीका कारण कम्पनीको कारोबार रकमले अहिलेसम्मकै उच्च विन्दु छोएको बताएका छन् । कम्पनीको कुल कारोबार रमक मध्ये ६४ प्रतिशत कारोबार अन्तर्राष्ट्रिय कारोबार हो ।

 

एप्पलको कारोबारले पहिलो त्रैमासमै १०० अर्ब डलर नाघेको यो पहिलो अवसर हो । यो गत वर्षको सोही अवधिको भन्दा २१ प्रतिशतले बढी हो । यसबीच आइफोनको विक्री पनि सर्वाधिक ६५.६ अर्ब डलर पुगेको छ ।

 

आइफोनको विक्री यो भन्दा अघि सबैभन्दा बढी ६१.५ अर्ब डलर पुगेको थियो, सन् २०१८ मा । गत त्रैमासमा भने चीनमा २५ प्रतिशत विक्री घटेका कारण आइफोनको विक्री घटेको थियो ।

 

कोरोना महामारीको समयमा पनि आइफोनको विक्री तीव्र गतिले बढेको देखिएको छ । पहिलो ५ जी आइफोनले समग्र आइफोनको विक्रीको नेतृत्व गरेको प्रमुख कार्यकारी टिम कुकले बताएका छन् ।

 

सार्वजनिक भएका तथ्याङ्कहरूका आधारमा सार्वजनिक भएको पहिलो २ हप्तामा नै आइफोन १२ विश्वकै सबैभन्दा धेरै विक्री भएको ५ जी फोन बन्न सफल भएको थियो । दोस्रोमा आइफोन १२ प्रो रहेको छ । बजारमा विक्री भएका कुल ५ जी फोनहरू मध्ये आइफोन १२ ले १६ प्रतिशत र आइफोन १२ प्रो ले ८ प्रतिशत हिस्सा ओगटेको छ ।

 

यसैगरी आइप्याडको विक्री ४१ प्रतिशत र म्याकको विक्री २१ प्रतिशतले बढेको छ । मानिसहरूले कोरोना महामारीको समयमा यस्ता सामानहरूको माध्यमबाट काम गर्न र अध्ययन गर्ने सिकेसँगै यी सामानहरूको विक्री पनि बढेको बताइएको छ ।

 

प्रमुख कार्यकारी कुकका अनुसार हाल एप्पलको १.६५ अर्ब सामानहरू सक्रिय रूपमा चलिरहेका छन् ।

 

यसैगरी एप्पलले फेन्सी सामानहरू, स्मार्ट होम सम्बद्ध सामानहरू लगायतबाट १२.९७ अर्ब डलरको कारोबार गरेको छ । सेवाबाट यो त्रैमासमा एप्पलले १५.८ अर्ब डलरको कारोबार गरेको छ ।

 

डिसेम्बर त्रैमासमा हरेक ‘प्रोडक्ट क्याटेगोरी’को विक्री दोहोरो अंकले बढेको एप्पलले जनाएको छ । यसैगरी एप्पलको हरेक भौगोलिक इकाइहरूमा व्यवसाय वृद्धि भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यस कारण हाल एप्पलसँग ३८.८ अर्ब डलर सञ्चालन नगद प्रवाह रहेको बताइएको छ । यसबीच एप्पल सेयरधनीहरूको लागि ३० अर्ब डलर लाभांश पनि वितरण गरेको छ ।

उद्योग वाणिज्य महासंघले दियो ८ पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी, कसले के पाए ? Read Previous

उद्योग वाणिज्य महासंघले दियो ८ पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी, कसले के पाए ?

अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ, किसानको ८ करोड भुक्तानी गर्न बाँकी Read Next

अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ, किसानको ८ करोड भुक्तानी गर्न बाँकी