काठमाडौं । कोरोनाका बीच आक्रमक व्यापार विस्तार गरेको प्रभु बैंकले खुद मुनाफामा छलाङ मारेको छ ।
बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विरण अनुसार डेढ अर्ब बढी खुद नाफा कमाएको छ ।
चालू आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी हो। गत आवको पुससम्ममा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड र खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २५.८५ प्रतिशत र कर्जा प्रवाह २६.८२ प्रतिशतले वृद्धि भएको छ । पुस मसान्तसम्म बैंकले १ खर्ब ६२ अर्ब २ करोड निषेप संकलन गरी १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ५.७२ रुपैयाँले बढेर २६.७७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१२ प्रतिशतबाट घटेर २.०६ प्रतिशतमा झरेको छ।
यस्तै, समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.३२ गुणा, बेस रेट ७.२४ प्रतिशत र स्प्रेडदर ३.६४ प्रतिशत रहेको छ।