काठमाडौं । भारतबाट तरकारी आयात बढेसँगै नेपालमा तरकारीको मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले पछिल्लो समय सिजनका कारण र भारतबाट समेत धेरै आयात भइरहेका कारण तरकारीको मूल्य घटेको बताए ।
पछिल्लो समय देशमा तरकारीको मूल्य १० रुपैयाँदेखि ८० रुपैयाँसम्म रहेको छ । उपत्यकाको होलसेल बजारमा काउली, गोलभेडा, बन्दा, आलु, सिमि लगायतका तरकारीहरुको मूल्य घटेको छ ।
काउलीको मूल्य १० रुपैयाँदेखि २० रुपैयाँ प्रतिकेजी होलसेल मूल्य रहेको छ । स्थानीय काउलीको मूल्य १५ देखि २० रुपैयाँ प्रतिकेजी रहेको छ । तराइको काउली १० देखि १५ रुपैयाँ प्रतिकेजी रहेको छ ।
चालू आवमा ३ करोड ६१ लाख रुपैयाँ बराबरको काउली आयात भएको छ । सो मूल्यमा २० लाख ९० हजार केजी काउली आयात भएको हो ।
कालिमाटी बजारमा ठूला गोलभेँडाको मूल्य प्रतिकेजी ४० रुपैयाँ रहेको छ । सानो गोलभेँडाको मूल्य १५ रुपैयाँदेखि २५ रुपैयाँ प्रतिकेजी रहेको छ । रातो आलु कालिमाटी होलसेल बजारमा ३० रुपैयाँदेखि ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । भारतीय आलु २८ देखि ३० रुपैयाँ प्रतिकेजी रहेको छ । सेतो आलु प्रतिकेजी २० २४ रुपैयाँ प्रतिकेजी रहेको छ ।
खुद्रा बजारमा गोलभेँडा प्रतिकेजी ५० देखि ७० रुपैयाँमा विक्री भइरहेको छ । चालू आर्थिक वर्षमा १६ करोड रुपैयाँ बराबरको गोलभेँडा आयात भएको छ । सो मूल्यमा १ करोड २१ लाख केजी गोलभेँडा आयात भएको हो ।
हाल होलसेल बजारमा प्याजको मूल्य ६० रुपैयाँदेखि ६५ रुपैयाँ प्रतिकेजी रहेको छ । प्याज खुद्रा बजारमा ९० रुपैयाँ प्रतिकेजीसम्ममा विक्री भइरहेको छ । चालू आवको यो अवधिमा ८९ करोड ७६ लाख रुपैयाँ बराबरको प्याज आयात भएको छ । सो मूल्यमा २ करोड १५ लाख केजी प्याज आयात भएको हो ।
पछिल्लो समय कालिमाटी बजारमा सेतो आलु २० देखि २४ रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा विक्री भइरहेको छ । रातो आलुको मूल्य प्रतिकेजी ३० देखि ३५ रुपैयाँ रहेको छ ।
आलु १६ करोड १८ लाख केजी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो आलु आयातका क्रममा ४ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बाहिरिएको थियो ।
यस्तै कालिमाटी बजारमा बन्दाको मूल्य १५ रुपैयाँदेखि ३० रुपैयाँ प्रतिकेजी रहेको छ । लोकल बन्दाको मूल्य २० देखि २५ रुपैयाँ रहेको छ । तराईको बन्दा १५ देखि २० रुपैयाँ प्रतिकेजी रहेको छ । लोकल बन्दा २० देखि २५ रुपैयाँ प्रतिकेजी रहेको छ । नरिवल बन्दाको मूल्य प्रतिकेजी २५ देखि ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।
भेण्टाको मुल्य २० देखि ४० रुपैयाँ प्रतिकेजी रहेको छ । सेतो भेण्टाको मूल्य २० देखि ३० रुपैयाँ रहेको छ । लाम्चो भेण्टाको मूल्य ३० देखि ४० रुपैयाँ प्रतिकेजी होलसेल मूल्य रहेको छ । खुद्रा बजारमा काउली ४० रुपैयाँ प्रतिकेजीसम्म विक्री भइरहेको छ । सिमीको मूल्य होलसेल बजारमा ३० देखि ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।