काठमाडौं । नेपाललाई भारत सरकारले कोभिड-१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ ।
भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।
आज मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ह्रदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालेछिट्टै खोप आइपुग्ने जानकारी दिए ।
मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा पनि औषधिलगायत आपूर्ति जारी राखेकामा सराहना व्यक्त गर्दै खोप अनुदान सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए ।
सीमित देशका सीमित क्षेत्रमा मात्रै खोप उत्पादन हुँदै आएको जानकारी दिँदै उनले भारतले दिन लागेको खोप नेपाली परिवेश अनुसारको भण्डारण र ढुवानी गर्न सक्ने रहेको बताए ।
खोप उपलब्ध हुनुलाई नेपाल–भारतका बीचको मित्रताको अनुपम उदाहरणका रुपमा लिँदै उनले भारत नेपाल र छिमेकीका विषयमा उपयुक्त निर्णय गरी अघि बढेकामा धन्यवाद दिए । आगामी दिनमा पनि खोपको खरीदमा भारत सरकारको सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले अहिले उपलब्ध खोप पर्याप्त नभएकाले बाँकी पारदर्शी रुपमा खरिद प्रक्रिया अघि बढाइने बताए ।
भारतीय राजदूत क्वात्राले भारतमा खोप बनेको एक हप्ताभित्रै खोप पाउने केही मुलुकमध्ये नेपाल एक रहेको जानकारी गराए । ‘खोप आउनु भनेको यहाँका जनता पहिलो प्राथमिकतामा पर्नु, दुई देशको मित्रता प्राथमिकतामा पर्नु हो र छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नु हो,’ राजदूत क्वात्राले भने, ‘यसको प्रभावकारिता ७० प्रतिशत हुने अति महत्वपूर्ण कुरा हो ।’
उनले नेपालमा पनि खोपको सफल उत्पादनको आशा व्यक्त गरे । उनले विश्वमा सफल खोपमध्ये दुई भारतमा बनेको जानकारी दिए ।
खोप अभियानको तयारी पूरा
मन्त्री त्रिपाठीले नेपालमा खोप अभियानका लागि सबै तयारी पूरा भएको जानकारी दिए। उनले खोप ल्याउने क्रममा कुनै पनि जटिलता नरहेको बताए ।
‘खोपका लागि उपयुक्त ७२ प्रतिशतमध्ये तीन प्रतिशत सफाइकर्र्मी चिकित्साकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र एम्बुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने छ,’ मन्त्री त्रिपाठीले भने, ‘यसका लागि कानूनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भएको छ ।’