युवा जनशक्ति र दुई विशाल अर्थतन्त्र बीचको नेपालको अवस्थिति नै समृद्धिको आधार : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले युवा जनशक्ति र दुई विशाल अर्थतन्त्र बीचको नेपालको अवस्थिति नै समृद्धिको आधार रहेको बताएका छन् ।

 

महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको ‘स्टार्ट अप एण्ड इनोभेशन’ समितिको सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण कार्यक्रममा यस्तो बताएका हुन् ।

 

अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसायनै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि बाहिरने यूवा शक्तिलाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पारे ।

 

युवा जनशक्तिको वाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा हाम्रो अवस्थितिनै हाम्रो समृद्धिको बलियो आधार भएकाले हामीसंग भएको अथाह सम्भाव्यताबाट वास्तविकरूपमै फाइदा उठाउनु पर्नेमा अध्यक्षको जोड थियो । यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको बताए ।

 

यस्तै, महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सृजना, कामका लागि वाहिरनु पर्ने बाध्यताको अन्त्य, पढे लेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ हामी सबैको जोड हुनुपर्ने भन्दै महासंघले आफ्ना सवै समिति फोरमको परिचालन मार्फत मुलुकभित्र उद्योग व्यवसायको विस्तार, रोजगारी सृजनामा कार्य गर्ने बताए ।

 

स्टार्ट अप एण्ड इनोभेशन समितिलाई पूर्णता

 

महासंघले कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एण्ड इनोभेशन समितिलाई पूर्णता दिएको छ ।

 

जस अनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे,निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन् ।

 

साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी रहेका छन् । त्यसैगरी समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र शौरभ ज्योति र अनिल चित्रकार छन् ।

 

समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने, ५० वटा स्टार्ट अपका लागि शुरूवाती पूँजी(लगानी) जुटाइदिने, महासंघको विद्यमान नेटवर्क मार्फत स्टार्टअपका विषयमा देशैभर सचेतनामूलक कार्यक्रम गर्ने लगायत निर्णय गरेको छ ।

नबिललाई उछिन्दै नेपाल लाइफ बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी Read Previous

नबिललाई उछिन्दै नेपाल लाइफ बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी

भारतले दिएको १० लाख डोज कोरोनाको खोप भोलि नेपाल आइपुग्ने Read Next

भारतले दिएको १० लाख डोज कोरोनाको खोप भोलि नेपाल आइपुग्ने