काठमाडौं । नबिल बैंकलाई उछिन्दै नेपाल लाइफ इन्स्योरेन्स बजार पूँजीकरणका आधारमा सेयर बजारको दोस्रो ठूलो कम्पनी बनेको छ ।
पछिल्ला दुई दिनमै सेयर मूल्य प्रतिकित्ता ४०० रुपैयाँभन्दा धेरैले बढेपछि नबिललाई पछि पार्दै नेपाल लाइफ दोस्रो ठूलो कम्पनी बनेको हो ।
दुई दिनमै कम्पनीको पूँजीकरण २२ अर्ब रुपैयाँले बढेर १ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यो नबिल बैंककोभन्दा करिब ६ अर्ब रुपैयाँ बढी हो ।नबिल बैंकको बजार पूँजीकरण १ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।
गत वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । साथै, आगामी साधरण सभामा कम्पनीले ‘सेयर स्प्लिट’ (प्रतिसेयर फेस भ्याल्यु १०० रुपैयाँबाट ५० रुपैयाँ कायम गर्ने र सेयर संख्या दोब्बर पार्ने) प्रस्ताव लैजाने भएसँगै यसको सेयरप्रति लगानीकर्ता आकर्षित हुँदा लगातार दोस्रो दिन सेयर मूल्य उच्च अंकले बढेको हो ।
मंगलबार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत अर्थात् २२४ रुपैयाँ र आज ७.२९ प्रतिशत अर्थात् १९६ रुपैयाँ गरी दुई दिनमै प्रतिकित्ता ४२० रुपैयाँले बढेको छ ।
पूँजीकरणका आधारमा नेपाल टेलिकम सेयर बजारको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । यसको बजार पूँजीकरण २ खर्ब रुपैयाँ रहेको छ ।