काठमाडौं । सरकारी स्वामित्व रहेको कृषि विकास बैंकले आर्थिक वर्ष २०७५/०७६को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार खुद नाफा कमाउन सफल भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा १९.१७ प्रतिशत (७० करोड) ले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको सार्वजनिक विवरण अनुसार खुद आम्दानी, सञ्चालन नाफा, रिजर्भ कोष, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ लगायतका महत्वपूर्ण सूचकमा सन्तोषजनक प्रगति गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३१ करोड १३ लाख रहेको छ। यसबाट सेयरधनीलाई ३३ प्रतिशतसम्म लाभांश बाँड्ने क्षमता राख्दछ । बैंकको जगेडा कोषमा १० अर्ब ४० करोड रुपैयाँ सञ्चित छ।
बैंकले गत आर्थिक वर्षमा १ खर्ब १९ अर्ब ७६ करोड निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब ७९ करोड कर्जा लगानी गरी ७ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी ७.४९ रुपैयाँले ४४.६७ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ ३१४.१८ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १०.८२ गुणा छ । बैंकको आधार ब्याजदर र कोषको लागत घटेका छ । यस अवधिमा बैंकको आधार ब्याजदर १०.५८ प्रतिशत र कोषको लागत ७.१४ प्रतिशत छ।
सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख पूँजी रहेको बैंकमा ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर छ।