काठमाडौं । अघोषित लोडसेडिङ बढ्दै गएपछि जेनेरेटर, इन्भर्टर, ब्याट्री लगायत ऊर्जाका वैकल्पिक साधनको माग ह्वात्तै बढेको छ ।
पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले तालिका बिनै दैनिक १ घण्टासम्म बत्ति काट्न थालेपछि त्यसको विकल्पमा जेनेरेटर, ब्याट्री लगायतको माग बढ्दा आयात पनि ह्वात्तै बढेको हो ।
चालू आवको मंसिरसम्ममा १२ हजार ७४५ थाल, जेनेटर, इन्भर्टर, ब्याट्री लगायत उपकरण आयात भएको छ । जबकी गत आवको सोही अवधिमा ८६७४ थान आयात भएको थियो । चालू आवमा करिब डेढ अर्ब रुपैयाँ बराबरको ऊर्जाको वैकल्पिक साधन आयात भएको विभागको तथ्यांक छ ।
सूचना बिनै झ्याप्प झ्याप्प बत्ति जान थालेपछि त्यसबाट आजित भएर सर्वसाधारण, कर्पोरेट हाउस, होटल, रेष्टुरेन्ट लगायतको प्रयोग बढेको हो । माग बढेसँगै आपूर्ति पनि ह्वात्तै बढ्दै गएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरसम्म) जेनेरेटर आयत गत आवको सोही अवधिको तुलनामा साढे ३ सय प्रतिशतभन्दा धेरैले बढेको छ ।
चालू आवको मंसिर मसान्तसम्ममा ठूला खालका ७०७ थान जेनेरेटर आयात गरिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३५९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा जम्मा १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो ।
यस्तै, चालू आवमा ब्याट्री आयात ७७ प्रतिशतले बढेको छ । मंसिरसम्म८८२० थान ब्याट्री आयात भएको छ । ज
चालू आवको मंसिरसम्ममा १२ हजार ७४५ थाल, जेनेटर, इन्भर्टर, ब्याट्री लगायत उपकरण आयात भएको छ । जबकी गत आवको सोही अवधिमा ८६७४ थान आयात भएको थियो । चालू आवमा करिब डेढ अर्ब रुपैयाँ बराबरको ऊर्जाको वैकल्पिक साधन आयात भएको विभागको तथ्यांक छ ।
यद्यपि, यस वर्ष इन्भर्टरको आयात भने घटेको देखिन्छ । अघिल्लो वर्ष इन्भर्टरको ५ महिनामा ५० थान इन्भर्टर आयात भएकोमा चालू आवमा यो घटेर २९ थानमा सीमित भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिशत कमी हो ।
पछिल्ला वर्षहरुमा नियमित विद्युत आपूर्ति भइरहेकाले सुक्दै गएको जेनेटर, ब्याट्री लगायतको व्यापार अहिले फस्टाउँदै गएको व्यापारीहरु बताउँछन् ।
‘गत वर्ष लोडसेडिङ नहुँदा महिनामा एउटा/दुईटा मात्रै जेनेटर विक्री हुन्थ्यो । तर, अहिले हप्तामा ३ वटासम्म विक्री हुन थालेको छ ,’ टेकुका एक व्यापारीले भने । सर्वसाधरणमा लोडसेडिङको तालिका नै आउने हो कि भन्ने आशंका रहेकाले आगामी दिनमा यसको व्यापार झन बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
किन बढ्दै छ अघोषित लोडसेडिङ ?
४ वर्ष अघिसम्म दैनिक १८ घण्टा लोडसेडिङ रहेको थियो । २०७३ सालमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भए लगत्तै उनको कुशल व्यापस्थानमा लोडसेडिङ घट्दै गएको थियो भने १ वर्षमा पूर्ण रुपमा हटेको थियो ।
तर, पछिल्लो ३ वर्ष लोडसेडिङको मार नखेपेका नेपालीले अहिले पुनः अघोषित लोडसेडिङ भोग्न थालेका छन् । भदौमा कुलमान पदमुक्त भएसँगै प्राधिकरणले माग र आपूर्तिको व्यवस्थापन गर्न नसक्दा अहिले झ्याप्प झ्याप्प बत्ति जान थालेको बताइएको छ ।
बेलुका पिक आवरमा आपूर्तिभन्दा माग बढी भएपछि त्यसको व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मेहम्मे परेको छ । जसले गर्दा एक क्षेत्रको बत्ति केही समय काटेर अर्को ठाउँमा वितरण गर्नु पर्दा अघोषित लोडसेडिङ भइरहेको हो ।
अहिले देशभर करिब १४०० मेगावाट विद्युत माग छ भने आपूर्ति पनि १४०० मेगावाट हाराहारीमै छ । तर, प्राधिकरणले माग र आपूर्तिको कुशल व्यवस्थापन गर्न नसक्दा अघोषित लोडसेडिङ भएको जनाइएको छ ।
हाल प्राधिकरणका आयोजनाबाट ४९६ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ३०२ मेगावाट र भारतबाट ६०० भन्दा बढी मेगावाट विद्युत आयात भइरहेको छ ।
यस्तै, नियमित रुपमा ट्रान्सफर्मर लगायत उपकरण मर्मतसम्भार नगर्दा, बिग्रिएिका उपकरण बेलैमा बनाउन चासो नदेखाउँदा, विद्युत, चुहावट बढ्नु, कर्मचारीको हेलचेक्र्याइँ लगायत कारणले लोडसेडिङ भएको जनाइएको छ ।
प्राधिकरणले भने विद्युतको माग बढेको र पुरानो वितरण प्रणालीमा समस्या आएकाले बत्ति जाने गरेको बताएको छ ।