अलिबाबा ग्रुपले आगामी हप्ता भित्रै ८ अर्ब डलर (करिब साढे ९ खर्ब रुपैयाँ) को बोण्ड (ऋणपत्र) जारी गर्ने तयारी गरेको छ । पहिला पनि ८ अर्बको बोण्ड जारी गरिसकेको यो कम्पनीले आफ्नो पुरानो रेर्कडको बराबरी गरेको हो । ग्रुपले यो बोण्ड ‘अफसोर’मा जारी गर्न लागेको हो ।
चीनको सबैभन्दा ठूलो इकर्मश व्यवसाय सञ्चालन गरिरहेको यो ग्रुपले कम्तीमा ५ अर्ब डलर र अवस्था हेरेर ८ अर्ब डलरसम्म पैसा उठाउने लक्ष्य राखेको बताइएको छ ।
अलिबाबाले सन् २०१४ मा पनि विश्व ऋण बजारबाट ८ अर्ब डलर ऋण उठाएको थियो । त्यो नै चिनियाँ कम्पनीको अहिलेसम्मकै ठूलो अफसोर बोण्ड इस्यु हो । कम्पनीले अमेरिकाको न्युर्योक स्टक एक्सचेन्जमा सूचीकृत भएपछि उक्त ऋणपत्र जारी गरेको थियो ।
अलिबाबा विश्वका उच्च संभावना भएका साना–ठूला स्टार्टअप कम्पनीहरु खरिद गर्दै आएको ग्रुप हो । कम्पनी लजिस्टिक्स नेटवर्क, क्लाउड होस्टिङ सेवा लगायत विभिन्न अनलाइन व्यवसायहरुमा आक्रामक ढंगले लगानी गरिरहेको छ ।
९० अर्ब डलरको तरलता लिएर बसेको बताइएको यो कम्पनीले खुद्रा व्यवसाय, किराना व्यवसाय, फुड डेलभरी जस्ता क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको छ ।
कम्पनीका सह–संस्थापक एवं अर्बपति ज्याक मा र उनको लगानी रहेको अर्को कम्पनी एन्ट ग्रुप पछिल्लो समय चिनियाँ नियामकहरुको अनुसन्धानको घेरामा रहेका छन् । निकै कडा अनुसन्धानको घेरामा रहेका ज्याक मा २ महिनायता सार्वजनिक रुपमा देखिएका पनि छैनन् । उनको अनुपस्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी र अड्कलबाजीहरु भइरहेका छन् ।
पछिल्लो समय अलिबाबाको नाफामा पनि गिरावट आइरहेको छ ।