नव उद्यमीदेखि व्यापारीक घरानाले खोलेका मोबाइल वालेट र त्यसको भविष्य

महान् भौतिक शास्त्री अल्बर्ट आइन्सटाइनले भनेका छन्, ‘एउटै काम पटक पटक दोहोर्याउने र फरक फरक नतिजाको अपेक्षा राख्ने क्रियाको अर्को नाम पागलपन हो’नेपालमा डिजिटल ‘स्टार्ट अप’हरुमा यस्तै ‘पागलपन’ दोहोरिरहेका छन् ।

 

युवाहरु अनेक सपना बोकेर डिजिटल स्टार्टअपहरु शुरु गर्ने, आफ्नो र घरको बचत सक्काउने र अन्ततः पलायन हुने अवस्था धेरै नै देखिन थालेका छन् नेपालमा । ‘इ कर्मस’मा त यस्ता अचाक्ली उदाहरणहरु भेटिन्छन् ।

 

आज, यहाँ चर्चा भने ‘मोबाइल वालेट’को हुनेछ । आइएमई–पे, ई–सेवा, खल्ती, प्रभु–पे, आई–पे, डीजी–पे, फोन–पे र भर्खरै आएको सेल–पे नेपालमा हाल सञ्चालन मा छन् ।

 

नव उद्यमीदेखि स्थापित व्यापारिक समूहको लगानीमा यी मोबाइल वालेट खुलेका हुन् । हालै प्रकाशित भएको एक समाचारमा बेलायतमा एटिएमहरु उखेल्न थालिएको कुरा उल्लेख थियो । कारण थियो, बेलायत पूर्ण रुपमा ‘क्यास लेस’ समाज बन्ने बाटोमा अग्रसर हुनु ।

 

नेपालमा पनि यस्ता मोबाइल वालेटहरु नगदलाई विस्थापित गर्नलाई नै खुलेका हुन् । यी डिजिटल ‘प्लेटर्फम’हरुले जति धेरै नगद विस्थापन गर्न सक्छन् उती नै धेरै नाफा कमाउने हुन् । नगद कारोबार सकिदैं जाँदा नै यस्ता वालेटहरु मौलाउँदै जाने हुन् ।

 

नेपालमा अझै पनि ५० प्रतिशत जनसंख्या वित्तीय पहुँच भन्दा बाहिर छन् ।वित्तीय पहुँच भएका अधिकांश मानिसहरु पनि वित्तीय साधन–स्रोत र उत्पादनहरुको खासै प्रयोग नै गर्दैनन् । उनीहरु ‘अण्डर ब्याङ्कड’ हुन् ।

 

तर, के नेपाल पूर्ण रुपमा क्यास लेस समाज बन्ने बाटोमा अग्रसर हुँदै यस्ता मोबाइल वालेटहरुले राम्रो नाफा कमाउने बाटो तर्फ अग्रसर हुँदै छ त ?

 

वित्तीय क्षेत्रका जानकारहरुका अनुसार ‘नेपालीहरु औसतमा आफ्नो डेबिट कार्ड पनि मुस्किलले महिनामा २ पटक प्रयोग गर्छन् ।’ अब डेबिट कार्ड नै प्रयोग नगर्ने ठाउँमा मोबाइल वालेटको प्रयोग कसरी होला ?

 

तथ्याङ्क केलाउँदा नेपालमा अझै पनि ५० प्रतिशत जनसंख्या वित्तीय पहुँच भन्दा बाहिर छ ।वित्तीय पहुँच भएका अधिकांश मानिसहरु पनि वित्तीय साधन–स्रोत र उत्पादनहरुको खासै प्रयोग नै गर्दैनन् । उनीहरु ‘अण्डर ब्याङ्कड’ हुन् ।

 

यसको प्रमुख कारण भनेको नेपालको आर्थिक सामाजिक अवस्था अनौपचारिक छ । मानिसहरु आपसी लेनदेन, उधारो र नगद मै काम गर्न रुचाउँछन् । सहज मान्छन् । नेपालीहरुको सामाजिक संरचना भनेको एक आपसमा सम्बन्ध बनाउनु हो । एक पटक भेटेको मानिस तुरुन्तै ‘दाइ’, ‘भाइ’, ‘बुवा’ वा ‘आमा’ भइहाल्छन् । उमेर अनुसार साइनो लगाइहाल्नु हाम्रो साँस्कृतिक विशिष्टता हो ।

 

उदाहरणको लागि टुटल वा पठाओको व्यवसायलाई लिन सकिन्छ । एक दुई पटक यी मोबाइल एपबाट बुकिङ गरेपछि ग्राहक तुरुन्तै चालकको दाइ वा भाइ भइहाल्छन् । त्यसपछि डाइरेक्ट फोन गर्छन् । नतिजा स्वरुप, व्यवसाय जति नै विस्तार भए पनि कम्पनीलाई केही फाइदा हुँदैन । यी दुई कम्पनीले गरिरहेको कारोबारको ठूलो हिस्सा यसैगरी चुहावट भइरहेको जानकारहरु बताउँछन् ।

 

यस्ता सामाजिक संरचना र मनोविज्ञानहरु तोडिँदै जान र त्यसको ठाउँ संस्थाहरुले वा प्रविधिले लिन त समय लाग्छ नी । यो तथ्यमा डिजिटल उद्यमीहरुले हेक्का राखेको देखिदैन ।

 

मोबाइल वालेट उद्यमको दुईवटा पाटो हुन्छ । पहिलो, राम्रो, आकर्षक, सुरक्षित र चुस्त प्रविधिको वा डिजिटल प्लेटर्फमको निर्माण गर्ने । दोस्रो, त्यसको व्यवसायीक मोडलको विकास गर्ने हो ।

 

नेपालमा हाल मोबाइल वालेटका प्रयोगकर्ता मुस्किलले १० लाख मात्र छन् । ती पनि नियमित प्रयोग गर्दैनन् । यस्तो अवस्थामा नेपालमा तत्कालको अवस्थामा मोबाइल वालेटको व्यवसाय नाफामा गएर सञ्चालन हुने अवस्थामा छैन ।

 

पहिलो काममा नेपाली उद्यमीहरुले राम्रो काम गर्छन् । उपलब्ध नयाँ प्रविधिको विकास गर्छन् । यसमा कुनै समस्या छैन । तर, जब व्यवसायीक मोडल निर्माण गर्ने कुरा आउँछ, तब उनीहरु माथ खान्छन् । किनभने नेपालको आर्थिक–सामाजिक अवस्थाको उनीहरुले हेक्का राखेका हुँदैनन् ।

 

व्यापारको आधारभूत कुरा त मानिस हो । समाज हो । मान्छे–मान्छे बीचको सम्बन्ध हो । यो तथ्यलाई नजरअन्दाज गरेर कुनै पनि व्यवसायीक मोडल तयार हुँदैन ।

 

मोबाइल वालेटको काम भनेको बैंक र सेवा वा वस्तु प्रदायकका बीचमा पुलको काम गर्ने हो । वालेटको प्रयोगकर्ताले आफ्नो बैंक खातामा भएको पैसा वालेटमा सारेर त्यहाँबाट वस्तु तथा सेवा किन्दा सेवा प्रदायकको मोबाइल वालेटमा पैसा पठाउने हो ।

 

यहाँ मोबाइल वालेट कम्पनीको काम भनेको माथि उल्लेखित कारोबारको सहजीकरण गर्नु र आफ्ना सबै प्रयोगकर्ताको वालेटमा भएको जति नगद मौज्दात बैंकमा जम्मा गर्नु हो ।

 

र, मोबाइल वालेटले यो सेवा दिए वापत प्रत्येक कारोबारबाट निश्चित प्रतिशत शुल्क लिने हो । यसको मतलब, यो व्यवसाय दिगो रुपले सञ्चालन गर्न र नाफा कमाउनका लागि अत्यन्तै धेरै प्रयोगकर्ताको आवश्यकता पर्दछ ।

 

नेपालमा हाल मोबाइल वालेटका प्रयोगकर्ता मुस्किलले १० लाख मात्र छन् । ती पनि नियमित प्रयोग गर्दैनन् । यस्तो अवस्थामा नेपालमा तत्कालको अवस्थामा मोबाइल वालेटको व्यवसाय नाफामा गएर सञ्चालन हुने अवस्थामा छैन ।

 

नेपालमा मोबाइल वालेटलगायत अन्य डिजिटल व्यवसायको अर्को पनि अत्यन्तै गम्भिर समस्या छ ।‘व्यवसायीहरु आफ्ना प्रतिस्पर्धीहरुका बारेमा मात्र सोच्छन् र आफ्नो सेवा, उत्पादन वा व्यवसायीक मोडल त्यसै अनुरुप बनाउँछन् । ग्राहकहरु र उनीहरुको आकांक्षाको बारेमा सोच्दैनन्,’ यसै क्षेत्रमा कार्यरत एक अधिकारीको बुझाई हो यो ।

 

बैंकहरुले नै आफ्नो इन्टरनेट बैंकिङ सेवालाई चुस्त बनाए भने आफ्नो व्यवसायीक धरातल कहाँ खोज्ने भन्ने विषयमा मोबाइल वालेट वालाहरु घोत्लिएका देखिदैंनन् ।

 

मानिसहरुको दिमाग कुनै पनि नयाँ कुरा सिक्ने प्रक्रिया हुन्छ । पद्धति हुन्छ । र, त्यसलाई मान्छेको वरिपरीको सम्बन्धहरु, सामाजिक संरचना आदिले धेरै प्रभाव पार्छन् । त्यसैले ‘यो व्यवसाय नेपालमा छैन त्यसैले यहि गरौं’ भन्ने किसिमले काम गर्दा हात लाग्ने भनेको असफलता मात्रै हो ।

 

मोबाइल वालेट वर्तमान अवस्था

 

मोबाइल वालेटहरु नेपालमा जुन हिसाबले आइरहेका छन् त्यो नियाल्दा के लाग्छ भने उनीहरु यो प्लेटर्फमको माध्यमबाट नेपाललाई क्यास लेस समाज बनाउने र त्यहीँ आफ्नो व्यवसायीक भविष्यको गोरेटो कोर्ने भनेर आएको देखिदैंन । यसका अन्तर्निहित संभावना र चुनौतीहरुको लेखाजोखा गरेको महशूस हुँदैन ।

 

केही स्थापित व्यवसायीक समूहहरुले यो क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाइराख्न पनि मोबाइल वालेटको व्यवसाय गर्ने गरेका छन् । अन्य क्षेत्रमा कमाएको पैसाको सानो हिस्सा यता लगानी गरिरहँदा उनीहरुलाई त खासै फरक नर्पाला । तर, सामान्य युवाहरुको त ओठ मुख सुकिहाल्छ ।

 

बैंकहरुले नै आफ्नो मोबाइल तथा  इन्टरनेट बैंकिङ सेवालाई चुस्त बनाए भने आफ्नो व्यवसायीक धरातल कहाँ खोज्ने भन्ने विषयमा मोबाइल वालेट वालाहरु घोत्लिएका देखिदैंनन् ।

 

नेपालमा मोबाइल वालेटहरुले गरिआएको प्रमुख काम भनेकै मोबाइल रिचार्ज गर्ने हो । यस्तो संकुचित व्यवसायीक धरातलमा उभिएर यो व्यवसायले छलाङ लगाउँदैन ।

 

संसारनै डिजिटल दुनियाँमा प्रवेश गर्दैछ । नेपाल पनि ढिलो चाँडो पुग्ने त्यहीँ हो । र, त्यसका लागि मोबाइल वालेट जस्ता डिजिटल पूर्वाधारको निर्माण अत्यावश्यक छ ।

 

यसका लागि कम्तीमा मोबाइल पेमेन्टको ‘इकोसिस्टम’ हुनै पर्छ । रेमिट्यान्स, ई– कर्मस र स–साना ऋण लगानी यो प्लेटर्फमबाट गर्न सम्भव हुने र दिनप्रति दिन प्रयोगकर्ताहरु बढ्दै गएको अवस्थामा मात्र यो ब्यवसाय नाफामूलक व्यवसाय बन्ने देखिन्छ ।

 

त्यसो भए के गर्ने त ?

 

यी तमाम कुरा गर्नुको अर्थ यो व्यवसाय गर्न चाहने नव उद्यमीहरुको बाटो छेक्नु र काम गरिरहेका उद्यमीहरुलाई हतोत्साहित पार्नु कदापि होइन ।

 

संसारनै डिजिटल दुनियाँमा प्रवेश गर्दैछ । नेपाल पनि ढिलो चाँडो पुग्ने त्यहीँ हो । र, त्यसका लागि मोबाइल वालेट जस्ता डिजिटल पूर्वाधारको निर्माण अत्यावश्यक छ ।

 

तर, यो व्यवसायलाई नाफामूलक बनाउने गरि नेपाल कहिलेसम्म डिजिटलाइज होला भन्ने कुराको भने यकिन छैन । ५–१० वर्ष जति पनि लाग्न सक्छ । त्यसैले लामो समयसम्म थेग्न सक्ने पूँजी र धैर्य गर्न सक्ने क्षमता भएका उद्यमीहरु मात्र यो व्यवसायमा प्रवेश गर्दा उपयुक्त होला भन्ने नै यो लेखको प्रमुख आशय हो ।

 

र, यो व्यवसायमा प्रवेश गर्न चाहनेले पक्कै पनि आफ्नो उत्पादनलाई निरन्तर अद्यावधिक गराउँदै पुराना प्रयोगकर्तालाई टिकाउने र नयाँलाई आकर्षित गर्नुपर्ने चुनौतीलाई पनि शिरोधार्य गर्नैपर्छ । र, अन्तमा राम्रो मोबाइल वालेट बनाउनु र त्यसलाई नेपालको सन्र्दर्भमा नाफामूलक व्यवसायको रुपमा ढाल्नु नितान्त फरक फरक विषय हुन् भनेर बुझ्नुको पनि विकल्प छैन ।

एडिबीसँग साढे २१ अर्ब ऋण लिएर आबुखैरेनी–पोखरा सडक चार लेनको बनाइँदै Read Previous

एडिबीसँग साढे २१ अर्ब ऋण लिएर आबुखैरेनी–पोखरा सडक चार लेनको बनाइँदै

सरकारी कर्मचारीको नयाँ तलब निर्धारण, कसको कति पुग्यो ?(सूचीसहित) Read Next

सरकारी कर्मचारीको नयाँ तलब निर्धारण, कसको कति पुग्यो ?(सूचीसहित)