काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट मार्फत बढाएको सरकारी कर्मचारीको नयाँ तलबमान तोकेको छ । सरकारले बजेटमार्फत नायब सुब्बसम्मका लागि २० प्रतिशत र त्यसभन्दा माथि पदका लागि १८ प्रतिशतले तलब बढाएको थियो ।
अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै कर्मचारीको नयाँ तलब स्केल निर्धारण भएको हो।बढेको तलब निजामती कर्मचारी, नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहको राष्ट्र सेवकले साउन १ गतेदेखि लागू हुने गरी पाउनेछन ।
सरकारले निर्धारण गरेको नयाँ तलब संरचनाअनुसार निजामती सेवामा सबैभन्दा कम तलब प्रथमस्तरका कार्यालय सहयोगी (पियन)ले २० हजार ७७८ रुपैयाँ पाउनेछन्।
यस्तै निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवको तलब ६९ हजार ४८२ रुपैयाँ रहेको छ। नेपाल सरकारका सचिवले ६४ हजार ७२६ रुपैयाँ मासिक तलब पाउँछन्।