कालोसूचीमा रहेका भरतलाल जोशी ललितपूर उद्योग वाणिज्य संघमा अध्यक्षको उम्मेदवार !

काठमाडौं । ललितपूर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारण सभा आजबाट पाटनमा शुरु भएको छ । आज र भोलि दुई दिन चल्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

 

दुई समूहमा विभाजन भएर चुनावी प्रतिस्पर्धामा उत्रिएका व्यवसायीहरुका बीच नै कालोसूचीमा रहेको व्यवसायी अध्यक्षको प्रतिस्पर्धामा रहेको बताउन थालेका छन् ।

 

अध्यक्ष पदको चुनावी प्रतिस्पर्धामा रहेका भरतलाल जोशी नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको कर्जा नतिरेको भन्दै ऋण असुली न्याधीकरणले कालो सूचीमा राखेको व्यक्ति हुन् ।

 

उनको पाटन ट्रेड सेन्टरले इन्भेष्टमेन्ट बैंकबाट लिएको कर्जा नतिरेको भन्दै कालोसूचीमा राखेको थियो ।

 

उनले कर्जा लिएको अर्को संस्था हो स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेड । उक्त सहकारीले उनको नाममा कर्जा चुक्ता गर्न आउने बारेको ३५ दिने सूचना जारी गरेको थियो । सहकारीमा हामीले सम्पर्कगरी बुझ्दा उनले अहिलेसम्म उक्त कर्जा चुक्ता गरेका छैनन् । उनलाई कालोसूचीमा राखिएको छ ।

 

‘उहाँले आफ्नो व्यवसाय चलाउन सक्नु भएको छैन । बैंक र सहकारीलाई तिर्नु पर्ने रकम समेत तिर्नु भएको छैन । अनि अध्यक्ष बन्ने सपना बोकेर चुनावी मैदान हुनुहुन्छ । खै कसरी जित्नु हुन्छ होला’, ललितपूर उद्योग वाणिज्य संघका एक कार्यसमिति सदस्यले भने ।

 

व्यवसायीको नेता बन्ने मानिस नै कालोसूचीमा रहेकाले उनले जितेर आएपनि संघको कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था छैन भन्दै अर्का एक सदस्यले भने, ‘उहाँ चुनाव जितेर आउनु भयो भने अहिले भिमसेन मन्दिर लगायतको पूर्वाधार निर्माण सहयोग गर्ने दाताहरुले समेत पैसा रोक्ने अवस्था छ ।’

 

ललितपूर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि भोलि निर्वाचनको कार्यक्रम तय गरिएको छ ।

सबैले पाउने गरी आइपीओ जारी गर्न लागेको कम्पनीले पायो यस्तो रेटिङ Read Previous

सबैले पाउने गरी आइपीओ जारी गर्न लागेको कम्पनीले पायो यस्तो रेटिङ

अटो क्षेत्रमा २०२० : विषम परिस्थितिका बाबजूद फस्टाउँदो व्यापार Read Next

अटो क्षेत्रमा २०२० : विषम परिस्थितिका बाबजूद फस्टाउँदो व्यापार