काठमाडौं । नेपाली सेयर बजारमा अहिलेसम्मको सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रेटिङ सम्पन्न गराएको छ ।
बैंकलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।
बैंकले पुस १० प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सम्भवतः यही पुस महिना भित्र आइपीओ निष्काशन गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।
बैंकले सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई अन्डरराइटर र एनआइबीएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
कम्पनीको वित्तीय अवस्था
बैंकको अधिकृत पूँजी ३४० अर्ब, जारी पूँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको छ भने आइपीओ विक्रीपछि चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०ः४० प्रतिशत हुनेछ ।
बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२.४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११५ रुपैयाँ रहेको छ ।
बैंकको व्यवसाय
नेपालमा रहेका मध्ये सबैभन्दा धेरै पूँजी भएको यो बैंक ठूला पूर्वाधारहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको हो । बैंकले यातायात, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार, सूचनाप्रविधि क्षेत्रमा लगानी गर्छ ।
बैंकले हालसम्म एक सोलार परियोजना, ४ वटा हाइड्रोपावर, एक सिमेन्ट उद्योग र एउटा पाँचतारे होटेलसहित ८ परियोजनामा ८ अर्ब ३५ करोड रुपैयाँ लगानी सम्झौता गरिसकेको छ । जसमध्ये १ अर्ब १२ करोड लगानी भइसकेको छ ।
बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ ।
यसैगरी कुमारी बैंक र पूर्वाधार विकास बैंकले २२ मेगावाटको सेतीखोला हाइड्रो पावर कम्पनीमा पनि संयुक्त रुपमा ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् । यसमा कुमारी बैंकले २ अर्ब र पूर्वाधार विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् ।