काठमाडौं । सरकारले ५ वर्षे योजना बनाएर हाल देशभरका ३१ विमानस्थल स्तरोन्नति र आधुनिकीकरण गरिरहेको छ ।
नागरिक उड्यन प्राधिकरण (क्यान)ले हाल साना रहेका विमानस्थललाई विस्तार गरी सहजै जहाज आवतजावत गर्न सक्ने र सञ्चालनमा नरहेका विमानस्थलहरूलाई सञ्चालनमा ल्याउने तयारीका साथ काम गरिरहेको हो ।
नेपालमा कुल ५० वटा विनमास्थल रहेका छन् । ती मध्ये ३४ वटाका हाराहारीमा मात्र विमानस्थल सञ्चालनमा रहेका छन् भने करिब डेढ दर्जन विमानस्थल बन्द रहेका छन् ।
नागरिक उड्यन प्राधिकरण (क्यान) का अनुसार अत्याधुनिक भौतिक निर्माण सहित देशभरका विमानस्थल स्तरोन्नति गर्ने काम भइरहेको छ ।
विमानस्थलहरूमा जग्गा अधिग्रहण, ईआइए लगायतका कामहरू धमाधम भइरहेको नागरिक उड्यन प्राधिकरण (क्यान) प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
नेपालमा कुल ५० वटा विनमास्थल रहेका छन् । ती मध्ये ३४ वटाका हाराहारीमा मात्र विमानस्थल सञ्चालनमा रहेका छन् । प्राधिकरणका अनुसार हाल भरतपुर, चन्द्रगढी, बैतडी, बझाङ, दार्चुला, ढोरपाटन, डोटी, जिरी, अर्घाखाँची, लाङटाङ, महेन्द्रनगर, रोल्पा, मनाङ लगायतका विमानस्थलहरू सञ्चालनमा छैनन् ।
हाल अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा एक मात्र त्रिभुवन विमानस्थल रहेको छ भने गौतमबुद्ध, निजगढ र पोखरा आन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा रहेका छन् ।
कुन विमानस्थलमा के-के काम हुँदैछ ?
नेपालगञ्ज विमानस्थल
नेपालगञ्ज विमानस्थलमा एप्रोन, हेलिप्याड निर्माण कार्य सम्पन्न भइसकेको छ । हाल नेपालगञ्ज विमानस्थलमा २०० मिटर पश्चिमतर्फ धावनमार्ग विस्तार कार्यको माटोको कार्य हुँदैछ ।

नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल टावर भवन निर्माण गर्नको लागि परामर्श दाता बाट प्राप्त लागत अनुमान चेक जाँच हुँदै, प्रिक्वालीफकेसन र कन्सलटिङ सर्भिसका लागि ठेक्का आह्वान भएको छ ।
नेपालगञ्ज विमानस्थलमा २ हजार ६५० मिटर रनवे बनाइने भएको छ । सो विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको समेत डिजाइन तयार भइसकेको छ । टर्मिनल भवनका लागि मात्र २ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ ।
मास्टर प्लान अनुसार विमानस्थल स्तरोन्नतिका लागि ११८ बिघा जग्गा अधिग्रहण गर्नु पर्ने हुन्छ । सो विमानस्थल स्तरोन्नतिका लागि १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विमानस्थल स्तरोन्नति पूरा भएपछि ए–३२०, बी७३७ जस्ता एयरक्राफ्टहरू उडान भर्न सकिने छ ।
चन्द्रागढी विमानस्थल
चालू आर्थिक वर्षको ५ महिनामा चन्द्रगढी विमानस्थलमा धावनमार्ग, ट्याक्सी–वे, एप्रोन, ओभरले बनाउने कार्य सम्पन्न भएको छ । चन्द्रागढी विमानस्थललाई ५ वर्षमा सीआरजे–७००, ड्यास ८ लगायतका विमान अवतरण गर्न सक्ने क्षमतामा विस्तार गर्न लागिएको छ ।
यसमा नयाँ टर्मिनल भवन राखिने छ भने १ हजार ८३० मिटरको रनवे समेत निर्माण भइसकेको छ । यस विमानस्थललाई फ्यूल स्टेसनको रुपमा विकास गरिने योजना क्यानको रहेको छ । यसका लागि कुल ५ अर्ब लागत अनुमान गरिएको छ ।
जनकपुर विमानस्थल
जनकपुर विमानस्थलमा टर्मिनल टावर भवन निर्माण कार्य सम्पन्न भएको छ । अन्य फिनिसिङका काम भइरहेका छन् । जनकपुर विमानस्थलमा चेनलिङ्क फेन्सिङ्ग, रनवे ग्रडिङ्ग, ड्रेनेज मर्मत तथा अन्य कार्यका लागि टेण्डर आह्वान भएको छ ।जनकपुर विमानस्थलमा ५ वर्षभित्र नयाँ टर्मिनल भवन निर्माण गर्नुका साथै सीआरजे–७००, ड्यास ८ लगायतका विमान सञ्चालन हुन सक्ने गरी स्तरोन्नति गरिने छ ।

विमानस्थलमा १३मिटरको रनवेमा कालोपत्र गरी निर्माण गरिने जनाइएको छ । हाल सो स्थानमा घाँसे मैदान रहेको छ । विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहण बाहेक १ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ ।
राजविराज विमानस्थल
राजविराज विमानस्थलमा कन्ट्रोल टावर तथा सेक्युरिटी पोष्ट निर्माण कार्य सम्पन्न भएको छ । विमानस्थललाई स्तरोन्नतिका लागि ९७ बिघा जमिन अधिग्रहण गर्नु पर्ने भएको छ । सो निर्माण पछि विमानस्थलमा एटिआर–७२, ड्यास ८ लगायतका ठूला विमानहरू सञ्चालन गर्न सकिने छ ।
विमानस्थल स्तरोन्नतिका लागि ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विमानस्थलमा कन्ट्रोल टावर निर्माण गर्नुका साथै हवाइ इन्धन राख्नका लागि स्टेसन समेत बनाइने योजनामा रहेको छ ।
हाल राजविराज विमानस्थलमा १ हजार ७०० मिटरको रनवे निर्माण गर्नुका साथै टर्मिनल भवनको समेत निर्माण पूरा भइसकेको क्यानका सूचना अधिकारी त्रिलोचोन पौडेलले जानकारी दिए ।
विराटनगर विमानस्थल
असोज १९ गते विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गर्नका लागि प्रदेश नं. १ सरकार, विराटनगर महानगर पालिका र नेपाल नागरिक उड्डयन प्रधिकरणका बीच समझदारी गरिएको छ । खर्चको ५० प्रतिशत प्रदेश सरकारल र ५० प्रतिशत नेपाल नागरिक उड्डयन प्रधिकरणले बेहोर्ने गरी सम्झौता भएको हो ।

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण कार्य गर्नको लागि परामर्श दाता बाट प्राप्त लागत अनुमान चेक जाँच हुँदै, प्रिक्वालिफिकेसन र कन्सलटेन्ट सर्भिसका लागि ठेक्का आह्वान भएको छ ।विमानस्थलमा नयाँ टर्मिनल भवन बनाइने भएको छ । विमानस्थलमा ३ हजार मिटर लामो रनवे निर्माण गर्न लागिएको हो । यो त्रिभुवन विमानस्थलमा रहेको रनवे सरह हुनेछ ।
विमानस्थलमा ८४० मिटरको ट्याक्सी वे समेत निर्माण गरिने छ । कर्मचारीहरूका लागि समेत विमानस्थल भित्रै क्वाटरको व्यवस्था गरिने क्यानले जनाएको छ । सो विमानस्थल स्तरोन्नति पछि सीआरजे–७००, ड्यास ८ लगायतका ठूलो एयरक्राफ्टहरू सञ्चालन गर्न सकिने छ । विमानस्थल निर्माणका लागि ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
सुर्खेत विमानस्थल
सुर्खेत विमानस्थलको विकास र विस्तार गर्नका लागि कर्णाली प्रदेश र नेपाल नागरिक उड्डयन प्रधिकरणका बीच सम्झौता भएको छ । सो निर्माणमा ५० प्रतिशत कर्णाली प्रदेशले र ५० प्रतिशत नेपाल नागरिक उड्डयन प्रधिकरणले खर्च बेहोर्ने छ ।
विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन ओभरले तथा अन्य कार्य निर्माण सामाग्री र उपकरणको व्यवस्था भई नोर्माण कार्य शुरू भएकोछ । विमानस्थलको घाँसे रनवेलाई कालोपत्र गरिने भएको छ । २५ बिघा जग्गा अधिग्रहण गरी १ हजार ५५५ मिटरको रनवे समेत निर्माण गरिने योजना रहेको छ । सो विमानस्थलमा चाँडै रात्री सेवा समेत सञ्चालन गरिने जनाइएको छ ।
यसका लागि ८ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ । जग्गा अधिग्रहणका लागि मात्र ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अन्य भौतिक निर्माणका लागि ३ अर्ब खर्च हुने छ ।
जोमसोम विमानस्थल
जोमसोम विमानस्थल विस्तारको लागि परामर्श दाता नियुक्त गरी सर्भे गर्ने काम सम्पन्न भएको छ । जोमसोम विमानस्थलमा नदी नियन्त्रण तथा विमानस्थल सुदृढीकरण कार्यको लागि डिजाइन, ड्रइङ तथा लागत अनुमानको तयार हुँदैछ ।
जोमसोम विमानस्थलमा ८१५ मिटरको रनवे कालोपत्र गर्ने काम पूरा भएको छ । जोमसोमका लागि एटीआर–४२ विमान सञ्चालन गर्ने योजना बनाइएको छ । अबको साढे २ वर्षमा जोमसोमको रनवेलाई ३०० मिटर थप गरिने योजना रहेको छ । यसका लागि अध्ययन भइरहेको क्यानले जनाएको छ ।
भरतपुर विमानस्थल
भरतपुर विमानस्थल सुदृढीकरणका लागि मास्टर प्लानको तयारी भइरहेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए । भरतपुर विमानस्थलमा १ हजार ६५० मिटरको रनवे निर्माण गरिने छ । विमानस्थल स्तरोन्नतिपछि विमानस्थलबाट ड्यास–८, एटीआर–७२ विमानहरू सञ्चालन गर्न सकिने छ । विराटनगरमा रात्री विमान सेवाको समेत व्यवस्था गरिनुका साथै नयाँ टर्मिनल भवन निर्माण गरिने योजना रहेको छ ।

रारा विमानस्थल
रारा (मुगु) विमानस्थलमा टर्मिनल टावर भवन निर्माण कार्य निर्माण कार्यको ड्याम्प प्रुफ कोर्स (डिपिसि) गर्ने काम सम्पन्न भएको छ ।
यस विमानस्थलमा टर्मिनल भवन र कन्ट्रोल टावर निर्माण गरिँदै छ । रनवे विस्तारका लागि भने सम्भावना नभएकाले त्यसमा केही भएको छैन । यसमा हाल बन्ने भौतिक निर्माणका लागि १४ करोड लागत अनुमान गरिएको छ ।
ताप्लेजुङ विमानस्थल
ताप्लेजुंङ विमानस्थलमा धावनमार्ग विस्तार तथा विमानस्थल सुदृढीकरण आयोजनाको जमिन कटान को काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । रनवे विस्तारका क्रममा १५० मिटरमा कालोपत्र गर्ने कामको शुरूवात गर्ने तयारी भइरहेको छ ।
ताप्लेजुङ विमानस्थलमा हाल ७०० मिटरको रनवे रहेको छ । यसलाई ८५० मिटरमा स्तरोन्नति गर्न लागिएको हो । यसका लागि ८ करोड लागत अनुमान गरिएको छ । रनवे स्तरोन्नति पछि यस विमानस्थलमा एटीआर ४२ ६०० जस्ता विमानहरू सञ्चालन गर्न सकिने छ ।
लुक्ला विमानस्थल
लुक्ला विमानस्थलमा हेलिपोप्याड निर्माण कार्यका लागि चेनलेन फेन्सिङ, ड्रेनेग र टर्मिनल विल्डिङ निर्माणको काम सम्पन्न भइसकेको छ । साथै हेलिप्याडको एप्रोनमा बेस हाल्ने काम हुँदैछ ।

लुक्ला विमानस्थल स्तरोन्नतिका क्रममा त्यहाँ हेलिकप्टर राख्ने ठाउँ बनाइन लागिएको छ । विमानस्थलमा ६ वटासम्म हेलिकप्टर अट्ने छ । हेलिकप्टरका लागि छुट्टै टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थलमा ५२७ मिटर रनवे बनाइने छ ।
रामेछाप विमानस्थल
रामेछाप विमानस्थलमा चालू आवबाट धावनमार्ग विस्तार कार्यको ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भएको छ । रामेछाप विमानस्थलमा रिभर ट्रेनिङ, रिटेनिङ स्ट्रक्चर तथा ड्रेनेज निर्माण कार्यको रिभर ट्रेनिङको कार्य सम्पन्न भएको छ । ९०० मिटर मध्ये ६०० मिटरमा यो काम सम्पन्न भएको हो ।
रामेछाप विमानस्थलमा नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर निर्माण कार्य डिजाइन, ड्रइङ, तयार गरिँदै छ । रामेछाप विमानस्थलमा हाल ५३० मिटर लामो रनवे रहेको छ । मास्टर प्लान अनुसार यसलाई विस्तार गरेर १ हजार मिटरमा स्तरोन्नति गरिने छ । रनवेको स्तरोन्नति पछि यस विमानस्थलमा एटीआर ४२ ६०० विमान समेत सञ्चालन गर्न सक्नेछन् ।
विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्नुका साथै कन्ट्रोल टावर निर्माण गरिने योजना रहेको छ । विमानस्थर स्तरोन्नतिका लागि २१ बिघा जमिन अधिग्रहण गर्नुपर्ने भएको छ । यस विमानस्थलको स्तरोन्नतिका लागि ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
गुल्मी विमानस्थल
गुल्मीको रेसुंगा विमानस्थलमा धावनमार्ग ट्याक्सीवे एप्रोन कालोपत्र, ड्रेनेज तथा अन्य निर्माण कार्यको ड्रेनको काम ५० प्रतिशत सकिएको छ । विमानस्थलमा चेनलिङ्क फेन्सिङ्ग निर्माण कार्यको साईट किलियर गरी पर्खाल र ग्याबिन लागाउने काम जारी छ । विमानस्थलमा टर्मिनल भवन र कर्मचारी आवास गृह निर्माण कार्य पिल्थ लेबल सम्मको काम सकिएको छ ।
डोल्पाका जुफाल र मसिनेचौर विमानस्थल
डोल्पाका २ विमानस्थलमा धमाधम काम भइरहेको छ । डोल्पाको जुफाल विमानस्थलमा चेनलिङ्क फेन्सीङ्ग निर्माण कार्य चेनलिङ्क फेन्सीङ्ग निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
डोल्पाको मसिनेचौर विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन कालोपत्र तथा ड्रेनेज निर्माण कार्य अन्तिम चरणमा रहेको छ । डोल्पा मसिनेचौर विमानस्थलमा टर्मिनल भवन निर्माण कार्यको रंगरोहन गर्ने कार्य हुँदैछ ।
सिमिकोट विमानस्थल
हुम्लाको सिमिकोट विमानस्थलमा धमाधम निर्माण कार्य भइरहेको छ । विमानस्थलमा एप्रोन तथा हेलिप्याड निर्माण कार्य एप्रोन र हेलिप्याडको माटोको काम सम्पन्न भएको छ । निर्माणका क्रममा बेस कुटने कार्य जारी छ ।
विमानस्थलमै धावनमार्ग, ट्याक्सीवे, ऐप्रोन ओभरले एंव फेन्सिङ कार्य धावनमार्गको ओभरले एवम् मार्किङ्ग कार्य सम्पन्न भइ फिन्सिङ कार्य जारी छ । विमानस्थलमा टर्मिन भवन निर्माणको काम सम्पन्न भएको छ । धावनमार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलमा ३ डीएचसी–६ जस्ता विमानहरू पार्क गर्न सक्ने गरी पार्किङ स्थल निर्माण गरिने भएको छ । यसका लागि कुल २० करोड लागत अनुमान गरिएको छ ।
रारा विमानस्थल

मुगुको रारा मुगु विमानस्थलमा एप्रोन तथा धावनमार्गको पूर्व पट्टी पहिरो नियन्त्रण कार्य वहुवर्षिय आयोजना अन्तर्गत भइरहेको छ । माइक्रो फिलिङको काम भने सम्पन्न भइसकेको छ । यस विमानस्थलमा टर्मिनल भवन र कन्ट्रोल टावर निर्माण गरिँदै छ । रनवे विस्तारका लागि भने सम्भावना नभएकाले त्यसमा केही भएको छैन । यसमा हाल बन्ने भौतिक निर्माणका लागि १४ करोड लागत अनुमान गरिएको छ ।
तुम्लिङ्गटार विमानस्थल
तुम्लिङ्गटार विमानस्थलमा नयाँ टर्मिनल ( टावर भवन निर्माण आयोजना एक तल्ले भवन को पूरै स्ल्याब ढलान भैसकेको, ढुंगामाटो तथा ढलानको कम भइरहेको छ । विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन ओभरले तथा ड्रेनेज सुधारका क्रममा फायर एक्सेस रोड निर्माणका लागि सब ग्रेड बनाउने तयारी भइसकेको छ । साथै गिट्टी ढुँगा संकलन भइरहेको छ ।
सिमरा विमानस्थल
सिमरा विमानस्थलमा पेरिफेरि रोड तथा एक्सेस रोड निर्माण कार्य तथा धावनमार्ग, ट्याक्सीवे ओभरले कार्यका टेण्डर आह्वान भएको छ । सिमरा विमानस्थलमा कन्ट्रोल टावर तथा अफिस भवन निर्माण निर्माण कार्य जारी रहेको छ । सिमिकोट, जोमसोम र जुम्ला विमानस्थलहरूको लागि फायर सेड निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
स्तरोन्नति भइरहेका अन्य विमानस्थलहरु
अछामको साँफेबगर विमानस्थलमा टावर, टर्मिनल भवन निर्माण कार्यको ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भएको प्राधिकरणले जनाएको छ । विमानस्थलमा चेनलिंक फेन्सिङ्ग निर्माण कार्यको पोल फिटिङ र नेट लेइङको काम हुँदैछ ।
यस्तै कालीकोट विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन कालोपत्र तथा ड्रेनेज निर्माण कार्यका लागि वाल कन्स्ट्रक्सन, बेस कोर्स लेइङ र नेट लेइङको काम भइरहेको छ । विमानस्थलमा चेनलिङ्क फेन्सीङ, पोल फिटिङको काम हुँदै छ ।
बाजुरा विमानस्थलमा एक्सेस सडक, फेन्सिङ्ग तथा टेवा पर्खाल निर्माण कार्यको रिटेन्डिङ वाल हाल्ने काम भइरहेको छ ।बाग्लुङ्ग वलेवा विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन, कालोपत्र तथा फेन्सिङ्ग ड्रेनेज तथा अन्य निर्माण कार्यको माटोको कार्य हुँदैछ ।
पालुङ्गटार विमानस्थलमा धावनमार्ग ट्याक्सीवे, एप्रोन, ड्रेनेज, एक्सेस रोड, पेरिफेरी रोड निर्माण कार्यको विमानस्थलमा आवश्यक पर्ने फलामको पोस्टहरू, बारबेड वायर अर्डर भइ सकेको छ ।
महेन्द्रनगर विमानस्थल सुदृढीकरण कार्य लागत अनुमान तयार गर्ने कार्य सम्पन्न भएको छ ।ईलाम विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन कालोपत्र, ड्रेनेज, फेन्सिङ्ग तथा अन्य कार्यको अर्थवर्क, सब बेस, बेस, ड्रेनेज लगायत कार्य सम्पन्न भइसकेको र कालो पत्र गर्ने तयारी हुँदै छ ।यस्तै, स्याङ्गबोचे विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन, ड्रेनेज निर्माण कार्य गर्नको लागि सर्भेको काम सम्पन्न भएको छ ।