काठमाडौं । आज अंग्रेजी नयाँ वर्ष । सन् २०२१ को पहिलो दिन । सन् २०२० भने मानव सभ्यताकै लागि ठूलो चुनौती लिएर आएको थियो । यो वर्षले जनस्वास्थ्यदेखि आर्थिक, साँस्कृतिक लगायत क्षेत्रमा मानव जातीको निकै सघन परीक्षा लियो ।
अब भ्याक्सिनको विकाससँगै मानव जातीले यो कठिन परीक्षामा उत्तिर्ण हुने विश्वास लिएको छ । आशा गरौं २०२१ विजयको वर्ष हुनेछ । उल्लासको वर्ष हुनेछ ।
सन् २०२० अर्थतन्त्र अन्य क्षेत्र झैं अटो क्षेत्रको लागि पनि भयावह भयो । लकडाउनका कारण यो क्षेत्र ठप्प भयो । उत्पादनका मागहरु साँघुरिए । विश्वका विकसित देशहरुले अर्थतन्त्र र व्यवसाय जोगाउनका लागि विभिन्न आर्थिक प्याकेजहरु ल्याए ।
नेपालको भने स्रोतका सन्दर्भमा आफ्नै सीमितता थिए । राजनीतिक र सरकारी क्षेत्रका नेतृत्वको नियत पनि उति सफा देखिएन । महामारीको यो विषम परिस्थितिमा पनि नेपाली नेतृत्व स–साना राजनीतिक खिचातानीमा अल्झिरह्यो । अझै अल्झिरहेछ ।
यस्तो अवस्थामा नेपालको आर्थिक क्षेत्र ध्वस्तै त हुने होइन भन्ने डर र त्रास समाजमा व्याप्त छ । कतिपय क्षेत्र ध्वस्त भएका पनि होलान् । महामारीको क्षेत्रगत प्रभावको गम्भीर अध्ययन हुनै बाँकी छ । तर, यस्ता निराशाका बीच पनि नेपालको अटो क्षेत्रमा भने केही चाँदीका घेरा देखिएका छन् । सरोकारवालाहरले केही राहतको श्वास फेर्न पाएका छन् ।
लामोसमय लकडाउनको कारण बन्द रहेको अटो क्षेत्रमा असामान्य सुधार देखिएको छ, पछिल्लो समय । सामान्य समयमा भन्दा महामारीका समयमा नेपालको कार तथा मोटरसाइकलको विक्रीमा उछाल आएको हो । विशेषगरी मोटरसाइकलको व्यापार यो समयमा ह्वात्तै बढ्यो ।
सामान्य अवस्थामा ६ महिनामा गर्ने व्यापार मोटरसाइकल कम्पनीहरुले २ महिनामै गर्न सफल भए । त्यस्तै रिकन्डिसन बजारमा पनि व्यापार यसरी बढेको छ की मोटरसाइकल पाइनै छाडेको अवस्था छ ।
सार्वजनिक सवारी साधन लामो समयसम्म बन्द रहनु, राम्रो स्वास्थ प्रोटोकल अनुसारको व्यवस्थापन नहुनु, जोरविजोर लागू हुनु लगायत संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम गर्न सहज होस भनेर मानिसहरु आफ्नै निजी सवारी प्रति आकर्षित भएको तथ्य बुझ्न सकिन्छ ।
सरकारी क्षेत्रबाट कुनै राहत नपाएका व्यापारीहरुले महामारीमा आफैं ग्राहक मैत्री विभिन्न अफरहरु ल्याएर ग्राहकलाई सवारी साधन खरिद गर्ने बाटो सहज पारि दिए । उत्साहित बनाइदिए । यसै कारण विशेष गरी मोटरसाइकलको व्यापारले उच्च विन्दु छोएको हो ।
होन्डाले १ रुपैयाँमा ग्राहकलाई ६ महिनासम्म मोटरसाइकल चढ्ने सुविधा दिएको थियो । यसैगरी बजाज, यामाहा, टीभीएस, हिरो जस्ता कम्पनीले ग्राहकलाई बिना ब्याजमा मोटरसाइकल उपलब्ध गराएका थिए । यसका साथै १० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल चढ्नेदेखि ३६ महिनाको किस्ताका सुविधा मोटरसाइकल कम्पनीले ग्राहकलाई उपलब्ध गराएका थिए ।
लकडाउनकै समयमा नेपाली बजारमा नयाँ नयाँ मोटरसाइकल तथा स्कुटर भित्रिए पनि । बजाजले एभेन्चर १६० स्ट्रीट नेपाल ल्यायो भने टीभीएसले आरटीआर २०० फोर भी र १६० फोर भीको नयाँ मोडल नेपाली बजारमा उपलब्ध गरायो ।
त्यस्तै हिरोले स्प्लेन्डर प्लस भित्र्याएको थियो भने यामाहाले बीएस ६ स्कुटर नेपालमा सार्वजनिक गरेको थियो । त्यस्तै लकडाउन कै समयमा नयाँ युरोपियन ब्रान्ड नेपाल भित्रिए । हस्कभर्ना, जावा, टेल्जी इलेक्ट्रीक, प्योर इभी, डेरि इभी जस्ता ब्रान्डको नेपाल प्रवेश भयो । त्यस्तै केटीएमले सबै मोडल बीएस ६ भर्सनमा ल्याएको छ ।
लकडाउनको समयमा सबैभन्दा धेरै मोटरासइकल विक्री गर्ने कम्पनीमा बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो रहेका छन् ।