काठमाडौं। पूर्वाधार क्षेत्रमा मात्र लगानी गर्ने उद्देश्यका साथ गत वर्षबाट सञ्चालनमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सञ्चालनकाे पहिलो वर्षमै ६७ करोड १ लाख रुपैयाँ नाफा कमाएकाे छ।
बैंकले कुनैपनि आयोजनामा लगानी नगरी अन्य बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेर सोको ब्याजले नाफा गर्न सफल भएको हो।बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ। पूँजी सहित बैंकको विभिन्न क्षेत्रमा गरिएको लगानी तथा निक्षेप सहितको कुल सम्पत्ती १३ अर्ब १४ करोड रुपैयाँ छ।
बैंकको व्याज आम्दानी एक अर्ब १३ करोड रुपैयाँ छ भने व्याज खर्च २३ लाख ५१ हजार छ। बैंकको खुद व्याज आम्दानी एक अर्ब १३ करोड रुपैयाँ छ। बैंकको कर्मचारी खर्च सहित जम्मा सञ्चालन खर्च १७ करोड ३० लाख रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी ६.११ रुपैयाँ छ।
बैंकसँग नगदको रुपमा चार अर्ब २७ करोड रुपैयाँ छ भने ८ अर्ब ५३ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेको छ। बैंकले सञ्चालमा आएसँगै शेयरमा मात्रै १२ करोड २७ लाख रुपैयाँको लगानी गरेको छ। अधिकांश रकम बैंकमा निक्षेपको रुपमा जम्मा गर्दै गर्दा निक्षेपको रुपमा २० करोड रुपैयाँ संकलन गरेको छ।
कम्पनीमा सरकारको १० प्रतिशत शेयर लगानी छ। बाँकी ९० प्रतिशत निजी क्षेत्रले लगानी गरेको छ। कम्पनीले ८ अर्बको साधारण शेयर जारी गर्ने छ।