सरकार र आन्दोलनरत उखु किसानबीच ४ बुँदे सहमति

काठमाडौं । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ ।

 

मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच मन्त्रालयमा भएको वार्तामा ४ बुँदे समझदारी भएको जनाइएको छ ।

 

२१ दिनभित्र सबै चिनी उद्योगको बक्यौता रकम उपलब्ध गराउन सहमति भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए । उनका अनुसार १६ दिनदेखि आन्दोलनरत किसानले मङ्गलबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर जिल्ला फर्कने सहमति भएको छ ।

 

२१ दिनभित्र पनि उखुको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई मन्त्रालयले कानूनी रुपमा कारबाही गर्ने सहमति भएको छ ।

 

यसैगरी उखुको अनुदान रकम र भुक्तानी गर्नुपर्ने रकम फरक परेकालगायत विभिन्न विषय तथा समस्या समाधानका लागि एक अध्ययन समिति गठन गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

 

उनका अनुसार सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयका प्रतिनिधि रहनेछन् । किसानले विभिन्न उद्योगबाट ९२ करोड बक्यौता रकम लिन बाँकी रहेको बताउँदै आएका छन् भने उद्योग मन्त्रालयको तथ्याङ्कमा ६५ करोड रुपैयाँ मात्र बाँकी रहेको छ ।

धान उत्पादन १.२८ प्रतिशतले बढ्ने अनुमान, कुन प्रदेशमा कति उत्पादन भयो ? Read Previous

धान उत्पादन १.२८ प्रतिशतले बढ्ने अनुमान, कुन प्रदेशमा कति उत्पादन भयो ?

सहुलियतपूर्ण कर्जा लिने दोब्बरले बढे, कृषिमा मात्रै ६५ अर्ब लगानी Read Next

सहुलियतपूर्ण कर्जा लिने दोब्बरले बढे, कृषिमा मात्रै ६५ अर्ब लगानी