काठमाडौं । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।
पछिल्लो १ वर्षको अवधिमा सहुलियत कर्जा लिनेको संख्या १२४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कुल ४६ हजार ३४३ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा अन्तर्गत ७९ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका छन् ।
सहुलियक कर्जा लिने मध्ये अधिकांशले व्यावसायिक कृषि तथा पशुपालनाका लागि लिएका छन् । कुल ४६ हजार ३४३ जना ऋणी मध्ये ६२ प्रतिशत अर्थात् २८ हजार ७६८ जनाले कृषिका लागि सहुलियत ऋण लिएका छन् ।
गत वर्षको सेही अवधिसम्म जम्मा २० हजार ६५९ जनाले बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियतपूर्ण कर्जा लिएका थिए। सो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४४ अर्ब ५६ करोड ७८ लाख ८४ हजार रुपैयाँ सहुलियत कर्जा प्रदान गरेका थिए ।
यसैगरी कात्तिक मसान्तमा राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा ५ अर्ब ९६ करोड रुपैयाँ लगानीमा छ । यसमध्ये साधारण पुनर्कर्जा ५ अर्ब ७ करोड रुपैयाँ र भूकम्प पीडितलाई निजी आवास निर्माण गर्न प्रदान गरिएको पुनर्कर्जा ९० करोड रुपैयाँ छ।
कृषिमा मात्रै कुल कर्जा रकमको ८२ प्रतिशत लगानी
सहुलियक कर्जा लिने मध्ये अधिकांशले व्यावसायिक कृषि तथा पशुपालनाका लागि लिएका छन् । कुल ४६ हजार ३४३ जना ऋणी मध्ये ६२ प्रतिशत अर्थात् २८ हजार ७६८ जनाले कृषिका लागि सहुलियत ऋण लिएका छन् ।
चालू आवको कात्तिकसम्म सहुलियत कर्जा अन्तर्गत कृषि क्षेत्रमा मात्रै ६५ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।यो कूल कर्जा लगानी रकमको ८२ प्रतिशत हो ।
राष्ट्र बैंकका अनुसार कात्तिकसम्म १७ हजार ५७५ जनाले अन्य विभिन्न ८ शीर्षकमा १४ अर्ब ४५ करोड सहुलियत कर्जा लिएका छन् ।जसमा, महिला उद्यमशील कर्जा अन्तर्गत १६ हजार ५२ जनाले महिला उद्यमशील कर्जा लिएका छन् । गत वर्ष यसै अवधिमा सहुलियत ऋण लिने महिलाको संख्या ६ हजार ६८२ थियो ।
ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । असार मसान्तसम्म ४ अर्ब ३५ करोड ऋण प्रवाह गरेका थिए । गत असारसम्म बैंकहरूले यस्तो कर्जा ५१ करोड २२ लाख रुपैयाँ प्रवाह गरेका थिए ।
दलित समुदाय व्यवसाय विकासको लागि ५२१ जनाले सहुलियत कर्जा लिएका छन् । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उच्च र प्राविधिक व्यावसायिक कर्जा ८५ जनाले र भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माण कर्जा २३५ लिएका छन् ।
कपडा उद्योग सञ्चालनका १९६ जनाले सहुलियत ऋण लिएका छन् । शिक्षित युवा स्वरोजगार कर्जा विदेशबाट फर्किएका युवा परियोजना कर्जा जम्मा ४०९ जनाले मात्रै उपयोग गरेका छन् ।
कुन-कुन शीर्षकमा पाइन्छ सहुलियत कर्जा ?
सरकारले ब्याज अनुदान सहित विभिन्न ९ शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको छ ।
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।
गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।