काठमाडौं । धानबालीको उत्पादन गत वर्षको तुलनामा १.२८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
चालू आर्थिक वर्षमा चैते धान र वर्षे धान गरी कुल उत्पादन गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिकटनले वृद्धि भई ५६ लाख २१ हजार ७१० मेट्रिकटन पुग्ने अनुमान गरिएको हो ।गत वर्ष देशभरका ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो आवमा १४ हजार ५५९ हेक्टर क्षेत्रफल वृद्धि भई कुल १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको जनाएको छ ।
यसैगरी चालू आवमा उत्पादत्व ३.८२ पुगेको कृषि मन्त्रालयको दाबी छ । यो गत आव भन्दा ०.२८ प्रतिशत बढी हो । चालू आवमा मनसुन जेठ ३० बाटै शुरु भएको र गत वर्ष मनसुनभन्दा यो वर्ष ३१ प्रतिशत बढी वर्षा भएको थियो । यो वर्ष उन्नत बीउले ९५ प्रतिशत भन्दा बढी क्षेत्रफल ओगटेको छ ।

यो वर्ष रासायनिक मल आयातमा ढिलाई भएपछि सीमा पारिका किसानहरुले अनौपचारिक रुपमा सीमापारीबाट यूरिया मल ल्याय प्रयोग गरेको पाइएको छ । चैते धान वर्षे धानभन्दा बढी उत्पादन हुने गरेको छ ।
उत्पादनको हिसाबले लुम्बिनीमा सबैभन्दा बढी धान उत्पादन हुने गरेको छ । कर्णाली प्रदेशमा सबैभन्दा न्यून धान उत्पादन हुने गरेको छ ।