काठमाडौं । कारोनाका बीच अर्थतन्त्र चलायामान भएसँगै बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ । पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेकाले ऋणको माग बढ्दै गएको हो ।
पछिल्लो १ सातामा मात्रै वाणिज्य बैंकहरुले १७ अर्ब ऋण लगानी गरेका छन् भने एक महिनाको अवधिमा ७४ अर्ब कर्जा प्रवाह गरेका छन् ।
नेपाल बैंकर्स संघका अनुसार पुस दोस्रोसाता मात्र बैंकहरुले १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै, मंसिर तेस्रो सातादेखि यताको अवधिमा ७४ अर्ब ऋण लगानीक गरेका छन् । जबकी यस अवधिमा ५५ अर्ब निक्षेप संकलन गरेका छन् ।

पुस १० गतेसम्म वाणिज्य बैंकहरुले कुल ३७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३१ खर्ब ४० अर्ब कर्जा लगानी गरेका छन् ।
बैंकिङ प्रणालीमा अहिले अधिक तरलता कायम रहेकाले बैंकहरुले निक्षेप संकलनलाई खासै प्राथमिकता दिएका छैनन् । पछिल्लो १ महिनामा ७४ अर्ब कर्जा लगानीगर्दा बैंकहरुले ५५ अर्ब मात्र निक्षेप संकलन गरेका छन् ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेको छ । राष्ट्र बैैंकले पछिल्लो समय ५० अर्ब रुपैयाँ तरलता खिचे पनि अझै सवा खर्बभन्दा बढी तरलता रहेको जनाइएको छ ।