काठमाडौं । काठमाडौं महानगरपालिकाले ३८ वटा पार्कहरू निर्माण गरिरहेको छ । हालसम्म सो मध्ये ५ वटा पार्कहरूको निर्माण सम्पन्न भइसकेको छ । ६ वटा पार्क निर्माणाधीन अवस्तामा रहेको छ ।
७ वटा पार्कको डिजाइन बन्ने क्रममा रहेको छ । ४ वटा पार्कहरूको डिजाइन पूरा भइसकेको छ । अन्य १६ वटा पार्क ठेक्काको चरणमा रहेको महानगरपालिका अन्तर्गत सहरी योजना आयोगले जनाएको छ ।
सुकेधारमा निर्माण भएका २ पार्कको निर्माण पूरा भएको छ । धर्मभक्त पार्क, जेष्ठ नागरिक पार्क, शंखपार्कमा समेत केही र्ममत सम्भारका काम सम्पन्न गरी ५ वटा पार्क निर्माण तथा मर्मत सम्भारको काम सम्पन्न भएको हो ।
आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार ६ वटा पार्कहरू निर्माणाधीन अवस्थामा रहेका छन् । बाँसबारी इको पार्क, बागमती नगरपार्क,चेस पार्क, लगन पार्क, कमलपोखरी कन्जरभेसन पार्क र टुँडालदेवी पार्क निर्माणधीन अवस्थामा रहेका छन् ।
आयोगले नयाँ आयोजनाहरू बनाउन परामर्श दिने गरेको उनले बताए । ‘महानगरपालिकाले गर्ने धेरै जसो आयोजनामा हामीले नै परामर्श दिने गरेका छौं,’ हामीले नसकेको खण्डमा परामर्श दाताको व्यवस्था गर्ने काम हाम्रो हो,’ बस्नेतले चाणक्य पोष्टसँग भने ‘पार्क निर्माणका लागि हामीले हाम्रै इन्जिनीयरहरू खटाएका छौँ ।’
काठमाडौं महानगरपालिकामा बन्ने ४ वटा पार्कहरूको डिजाइन पूरा भइसकेको छ । थापथलीको जेतोङमार्गमा हरियाल बनाउनका लागि डिजाइन बनिसकेको छ । शिवास्थली पार्क, टोखामा सडक पार्क र बालकोट मन्दिरमा पार्क बनाउन मास्टर प्लान बनाउने काम पूरा भएको छ ।
७ वटा पार्कहरू निर्माणका लागि डिजाइन बनाउने चरणमा रहेका छन् । विष्णुमती करिडोमा पार्क बनाउन डिजाइन भइरहेको छ । सिनामंगलमा चिल्ड्रेन पार्क बनाउने डिजाइन भइरहेको छ । सिमलटार पार्क, जेष्ठ नागरिक दिवसेवा भवनको पार्क, तीनकुने पार्क र बालाजु विसालधारामा पार्क बनाउन मास्टर प्लान बनाउने काम भइरहेको छ ।
यस्तै केही पार्कहरू निर्माणका लागि ठेक्का आह्वानका प्रकृयाहरू भइरहेको छ । १६ वटा पार्क निर्माणका लागि ठेक्का आह्वान भइरहेको छ ।
सुकेधारामा बन्ने २ वटा पार्क हाल ठेक्का आह्वानको चरणमा रहेको छ । टोखाको धन्दो चैत्य पार्क, विष्णुमति खोला करिडोर विकास पार्क, शान्ति नमूना पार्क, कुलेश्वर बुद्धविहार पार्क, त्रिपुरेशवर पार्क, कुलेश्वर रेसिडेनसल एरिया पार्क, गौरिघाटको माच्गा पार्क, अमरवति पार्क, मैजुवाल पार्क, कोटेश्वर दोभान पार्क, इन्द्रायनी पार्क, डिल्लीबजार गुर्जुचौर पार्क,प्रयाग मार्ग पार्क, कपुरधारमा लाजिमपार्ट पार्क गरी १६ वटा पार्कहरू निर्माणका लागि ठेक्का आह्वानको तयारीमा रहेका छन् ।