व्यापार घटे पनि आयल निगमले कमायो १३ अर्ब नाफा

काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ ।

 

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार १३ अर्ब नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड नाफा कमाएको हो ।

 

प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफामा वृद्धि भएको हो ।

 

ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष २०७६/७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार समग्रमा निगमले ५ प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ ।

 

कुन वर्ष कति नाफा

 

लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो । निगमले आव २०७२/७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा ९ अर्ब ४५ करोड, २०७४/७५ मा ३ अर्ब ५८ करोड, २०७५/७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

 

निगमले आव २०७५/७६ मा २९ करोड रहेको चुक्ता पूँजीलाई १० अर्ब पूँजी वृद्धि गरेर ११ अर्ब पुर्याएको थियो । आव ०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।

 

दश महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा १ अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैक ब्याजबाट मात्र १ अर्ब ७७ करोड आम्दानी भएको निगमको जनाएको छ ।

 

निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार इन्धनमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गदै आएको छ । निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्य अनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।

 

निगममा सरकारको ९९ प्रतिशत सेयर लगानी रहेको छ । यसमा अर्थ, उद्योग वाणिज्य आपूर्तिमन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको शेयर रहेको छ ।

 

सरकारलाई सबै भन्दा धेरै राजश्व बुझाउनेमा अग्रस्थानमा रहेको निगमले गत आवमा इन्धनको कारोवार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड राजश्व बझुाएको जनाएको छ । गत वर्ष निगमले २ खर्ब ५ अर्ब बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो ।

 

निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउँदै आएकोमध्ये सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा ४ अर्ब ९९ करोड पुगेको छ । यस्तै प्रदूषण करबाट २ अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट १३ अर्ब ९८ करोड जम्मा भएको छ ।

 

निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य सामायोजन गदै आए पनि सीमानाका भन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । सीमा नाका भन्दा नेपालमा पेट्रोल ३१.८४ रुपैयाँ र डिजेल ३७.२६ रुपैयाँ नाफा रहेको छ । हाल पेट्रोल प्रतिलिटर १०६ र डिजेलको ८९ रुपैयाँ मूल्य रहेको छ ।

युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित Read Previous

युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित

सेयर बजार कमब्याक, कारोबार रकम भने ह्वात्तै घट्यो Read Next

सेयर बजार कमब्याक, कारोबार रकम भने ह्वात्तै घट्यो