काठमाडौं । पछिल्ला केही महिनायता नेपालमा औषधीको उत्पादन र कारोबारमा उल्लेख्य गिरावट आएको छ । कोरोना महामारीले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा प्रभाव पारे झैं औषधी उत्पादन र वितरणको क्षेत्रमा पनि नराम्ररी प्रभाव पारेको हो ।
नेपालमै उत्पादन हुने औषधीहरू लगायत आयातित औषधीको पनि व्यापारमा ठूलो गिरावट आएको व्यवसायीहरूको भनाइ छ । ‘भाइरसको महामारीयात ३०–४० प्रतिशतले हाम्रो उत्पादन घटेको छ । डाक्टरहरू क्लिनिकमा बस्न मान्दैनन् । बिरामीहरू पनि हत्तपत्त डाक्टरकोमा जानै मान्दैनन् । सामान्य स्वास्थ समस्याहरूको समाधान घरेलु ढंगले नै खोज्न थालेको देखिन्छ’, क्वेस्ट फार्मासेटिकल्सका उमेशलाल श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
‘क्लिनीकहरू राम्रोसँग खुलेका छैनन् । खुलेकामा पनि मानिसहरू सकेसम्म जान चाहिरहेका छैनन् । साथै लकडाउनको समयमा मानिसहरू घरै बसेका हुनाले उनीहरूले बाहिरको खाना, जङ्क खाना इत्यादी कम खाए र बिरामी पनि कम भए । यसैले औषधीको खपत घटायो ।’
सबैखाले औषधीको उत्पादन र व्यापार घटेको श्रेष्ठले बताए । तर, सामान्य औषधीहरूको तुलनामा रेगुलर खाने औषधीहरूको उत्पादन कम घटेको औषधी उत्पादक संघ स्रोत बताउँछ । सामान्य औषधीहरू भन्नाले भिटामिन, कफ सिरप, एन्टिबायोटिक्स लगायतलाई बुझिन्छ भने रेगुलर खाने औषधी भन्नाले सुगर, प्रेसर इत्यादी औषधीलाई बुझिन्छ । यद्यपि कति प्रतिशतले घटेको भन्ने यकिन तथ्याङ्क भने अझै उपलब्ध नभइसकेको संघ स्रोत बताउँछ ।
यसैगरी औषधी व्यवसायी संघ बागमती शाखाका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ पनि औषधीको आयात र व्यापार खस्किएको स्वीकार्छन् । उनको भनाइमा पनि रेगुलर खाने औषधीको तुलनामा सामान्य औषधीको आयात र व्यापार घटेको छ ।
भन्सार तथ्याङ्कले पनि उनको भनाइको पुष्टि गर्दछ । चालू आर्थिक वर्षको ५ महिनामा ११ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बराबरको औषधीजन्य वस्तु आयात भएको छ । चालू आवको सो अवधिमा औषधी आयात मार्फत ५७ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यो अवधिमा ७४ लाख ४२ हजार केजी औषधी आयात भएको हो ।
गत आर्थिक वर्षको ५ महिनामा भने कुल १३ अर्ब २७ करोड १३ लाख रुपैयाँ बराबरको औषधी जन्य वस्तु आयात भएको थियो । सो औषधी आयातका क्रममा ६६ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । सो अवधिमा ९७ लाख ३१ हजार केजी औषधी जन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसको मतलब अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिना भन्दा यो आर्थिक वर्षको ५ महिनामा औषधी आयात करिब २ अर्ब रुपैयाँले घटेको छ ।
यसैगरी आर्थिक वर्ष २०७६/७७ मा कुल २८ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबरको औषधी जन्य वस्तुहरू आयात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ३० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको औषधी आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको पछिल्लो ५ महिनायता नेपाल पनि कोरोनाबाट प्रभावीत रहेको छ ।
अर्का औषधी उत्पादक सुरेन्द्र खड्का पनि समग्रमा सबै र विषेशगरी जनरल औषधीहरूको उत्पादन र व्यापारमा उल्लेख्य गिरावट आएको बताउँछन् ।
‘क्लिनीकहरू राम्रोसँग खुलेका छैनन् । खुलेकामा पनि मानिसहरू सकेसम्म जान चाहिरहेका छैनन् । साथै लकडाउनको समयमा मानिसहरू घरै बसेका हुनाले उनीहरूले बाहिरको खाना, जङ्क खाना इत्यादी कम खाए र बिरामी पनि कम भए । यसैले औषधीको खपत घटायो,’ खड्काले भने ।