काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै घटेको देखिएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक तथ्यांक अनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५.७ प्रतिशतले घटेको छ ।
चालू आर्थिक वर्षको ४ महिनामा जम्मा ३ हजार ४६३ जना वैदेशिक रोजगारीका लागि गएका छन्। अघिल्लो आर्थिक वर्ष यो संख्या ७९ हजार ६८० जना थियो। यसैगरी, साउनदेखि कात्तिकसम्मको अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने कामदारको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.९ प्रतिशतले संकुचन आएको छ।
पुनः श्रम स्वीकृती लिनेको संख्या अघिल्लो वर्षको तुलनामा ८० हजार ८९१ बाट घटेर जम्मा १७ हजार १०८ रहेको छ।
गत वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेहरुको संख्या ह्वात्तै घटेपनि चालू आर्थिक वर्षको तीन महिना (साउन–असोज) मा विदेशबाट आउने विप्रेषण गत आर्थिक वर्षको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ५८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यही अवधिमा २ खर्ब २९ अर्ब ८६ करोड रेमिट्यान्स भित्रिएको थियो ।