काठमाडौं । नेपाली सेयर बजारमा १ खर्ब बढी बजार पूँजीकरण हुने कम्पनीको संख्या ४ पुगेको छ ।
पछिल्लो समय निरन्तर सेयर मूल्य बढेसँगै खर्बपति क्लबमा पुग्ने कम्पनीको संख्या पनि बढेको हो । मंसिरसम्म नेपाल टेलिकम र पुनर्बीमा कम्पनीको मात्र बजार पूँजीकरण १ खर्ब बढी थियो भने अहिले त्यो सूचीमा नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंक थपिएका छन् ।
बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम नेपाली सेयर बजारको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । यसको बजार पूँजीकरण १ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ ।
यससाता करिब ५ अर्ब बजार पूँजीकरण घटे पनि नेपाल पुनर्बीमा कम्पनी दोस्रो स्थानमा यथावत रहेको छ । यसको बजार पूँजीकरण १ खर्ब ४९ अर्ब रहेको छ ।

निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंक पूँजीकरणका आधारमा तेस्रो ठूलो कम्पनी बनेको छ । यसको पूँजीकरण १ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ ।
यस्तै, खर्बपति क्लबमा रहेको अर्को कम्पनी हो नेपाल लाइफ इन्स्योरेन्स । सेयर बजारको चौथो ठूलो कम्पनी बनेको नेपाल लाइफको पूँजीकरण १ खर्ब २० अर्ब रुपैयाँ रहेको छ ।
पूँजीकरणकै आधारमा नागरिक लगानी कोष ८९ अर्ब ९१ करोड, एनआइसी एशिया बैंक ७९ अर्ब ७९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ७२ अर्ब ५२ करोडसहित क्रमशः पाँचौंदेखि सातौं स्थानमा रहेका छन् ।
यस्तै, एनएमबी बैंक ६५ अर्ब ३० करोड, ग्लोबल आइएमई बैंक ६४ करोड ३२ लाख र हिमालयन बैंक ५९ अर्ब ९८ करोड बजार पूँजीकरणसहित क्रमशः शीर्ष दश स्थानमा रहेका छन् ।
नेप्सेका अनुसार सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पूजीकरण २७ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ ।