बङ्गलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउने सम्झौता, ३ महिनाभित्र आइपुग्ने

काठमाडौं । बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ ।

 

नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

 

सम्झौता भएको ३ महिनाभित्र बल्क र कार्गो गरी दुई तरिकाबाट चार चरणमा रासायनिक मल ल्याउने गरी सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

 

उनका अनुसार मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट मोहमद अमिउल अहसनले संयुक्तरुपमा हस्ताक्षर गरे ।

 

बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ । यो मौसममा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डीएपी र पोटास मल रहेको भन्दै आगामी दिनमा मलको अभाव हुन नदिने मन्त्रालयवाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसमेत तयार भइरहेको जनाइएको छ ।

 

नेपाल र बङ्गलादेश सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदका लागि समझदारीपत्र (एमओयू) गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेन्द्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्सीय टोली बङ्गलादेश गएका थिए ।

 

कृषि सामग्री कम्पनीले बङ्गलादेशबाट रासायनिक मल ढुवानी गर्न यसअघि नै संयुक्त अरब इमिरेट्स (यूएइ) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट गरिसकेको छ ।

प्रभु लाइफको आइपीओमा हालसम्मकै धेरै आवेदन, कति जनाले भरे ? Read Previous

प्रभु लाइफको आइपीओमा हालसम्मकै धेरै आवेदन, कति जनाले भरे ?

हिमालयन डिष्ट्रिलरीले घोषणा गर्‍यो बम्पर लाभांश, बोनस र नगद कति Read Next

हिमालयन डिष्ट्रिलरीले घोषणा गर्‍यो बम्पर लाभांश, बोनस र नगद कति