काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) मा हालसम्मकै धेरै आवेदन परेको छ ।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १० लाख ४४ हजार ५२५ जनाले आवेदन दिएका छन् ।अन्तिम तथ्यांक आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ ।
यो हालसम्म निष्काशन भएको कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यस अघि रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा साढे ८ लाख हाराहारी आवेदन परेको थियो।
सर्वसाधारणबाट ५४ लाख कित्ता सेयरका लागि आवेदन माग भए पनि २ करोड ७७ लाख कित्ताका लागि आवेदन परेको छ । यो मागको ५.१५ गुणा बढी हो।
कम्पनीले सोमबारदेखि ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो ।
मागभन्दा ५ गुण बढी आवेदन परेपछि ५ लाख ४० हजार व्यक्तिले १०र१० कित्ता सेयर पाउनेछन् भने करिब ५ लाख आवेदकको हात खाली हुने भएको छ ।
हाल कम्पनीमा चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओपछि २ अर्ब पुग्नेछ । प्रभु लाइफको यो आइपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।