कित्ताकाट नहुँदा जग्गाको कारोबारमा गिरावट, राजश्व ११ अर्बले घट्यो
चाणक्य पोष्ट
प्रकाशित : 5:10 pm, बिहीबार, पुस २, २०७७

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा घरजग्गा कारोबार घटेको छ । कोरोनाका कारण मानिसको आम्दानी घट्नु, कित्ताकाट खुला नहुँदा टुक्रा जग्गा उपलब्ध नहुनु, रियलस्टेट व्यवसायीले थप लगानी नगर्नु लगायत कारण कारोबार घटेको हो ।

 

नेपाल जग्गा आवास विकास संघका उपसभापति इच्छाबहादुर वाग्ले कित्ताकाट रोकिएकै कारण टुक्रा जग्गा नहुँदा कारोबारमा गिरावट आएको बताउँछन् ।

 

कोरोनाका कारण मानिसको आम्दानी घट्नु, कित्ताकाट खुला नहुँदा टुक्रा जग्गा उपलब्ध नहुनु, रियलस्टेट व्यवसायीले थप लगानी नगर्नु लगायत कारण कारोबार घटेको हो ।

 

हालै सरकारले कित्ताकाट खुल्ला गरेकोमा फेरि अदालतले रोक लगाउँदा आगामी दिनमा कारोबार झनै घट्ने सम्भावना रहेको उनले बताए । ‘कित्ताकाट खुलेको भए जग्गा कारोबार बढ्ने थियो,’ उनले चाणक्य पोष्टसँग भने, ‘मध्यम आम्दानी भएका मान्छेले ३/४ आना जग्गा किन्न खोजे पनि माग अनुसार टुक्रा जग्गा नै छैन ।’

 

अहिले बैंकको ब्याज समेत सस्तो भएको बेला जग्गा किन्न चाहने मान्छे भएपनि माग अनुसारका टुक्राजग्गा नहुँदा कारोबार हुन नसकेको उनको भनाइ छ ।

 

देशमा कित्ताकाट रोकिएको ३ वर्ष भइसकेको छ । कित्ताकाट रोकिएका कारण कयौं प्लटिङ भएका जमिनहरु त्यसै रहेका छन् । यो वर्ष कित्ताकाट खुलाउने सरकारको निर्णय पनि सर्वोच्च अदालतले नखुलाउन आदेश दिएको छ ।

 

भूमि व्यवस्था मन्त्रालयले २०७४ साउन २६ मा मन्त्रिस्तरीय निर्णय गर्दै कृषियोग्य जग्गाको कित्ताकाटमा रोक लगाएको थियो । त्यसको झन्डै डेढ वर्षपछि पुनः २०७५ पुस २७ मा कित्ताकाट सर्तसहित आंशिकरूपमा खुकुलो बनाइएको थियो ।

 

२०७७ भदौ १८ गते मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेसँगै केही ठाउँमा कित्ताकाट हुन थालेका थिए । तर, मंसिर २३ मा सर्वोच्चले तत्कालै कित्ताकाट खुला नगर्न सरकारलाई आदेश दिएपछि हाल रोकिएको छ ।

 

यद्यपि, सर्वोच्चले कित्ताकाटमा रोक लगाएको भए पनि विभिन्न विभिन्न वाहानामा कित्ताकाट भने हुने गरेको छ ।

 

राजश्व संकलन ११ अर्बले घट्यो

 

भूमि व्यवस्थापन तथा अभिलेख  विभागका अनुसार चालू आर्थिक वर्षको ५ महिना (साउन–कात्तिक)मा कुल ४ अर्ब २४ करोड ३४ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा करिब ११ अर्बले कमी हो । गत वर्ष सोही अवधिमा १५ अर्ब रुपैयाँ हाराहारीमा कुल राजश्व संकलन भएको थियो ।

 

विभागका अनुसार पछिल्लो समय जग्गाको मूल्य भने खासै बढेको छैन । केही ठाउँमा सामान्य भाउ बढेपनि अधिकांश ठाउँमा जग्गाको मूल्य गत वर्षकै हाराहारीमा रहेको विभागको भनाइ छ ।

 

चालू आवमा घरजग्गाको रजिष्ट्रेशन मार्फत २ अर्ब ९४ करोड १८ लाख रुपैयाँ दस्तुर संकलन भएको छ । पूँजीगत लाभकर तर्फ १ अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ ।

 

उपत्यका भित्र मात्र १ अर्ब ९३ करोड २२ लाख रुपैयाँ कुल राजश्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । सो अवधिमा उपत्यका भित्र १ अर्ब ३१ करोड १० लाख रुपैयाँ रजिष्ट्रेसन दस्तुर संकलन भएको हो । पूँजीगत लाभकर अन्तर्गत ५७ करोड ५३ लाख रुपैयाँ संकलन भएको तथ्यांकले देखाएको छ । सो अवधिमा सेवा कर मार्फत ८ करोड ५८ लाख रुपैयाँ संकलन भएको छ ।

 

काठमाडौंका मालपोत कार्यालयहरुबाट चालू आवको ५ महिनामा कुल १ अर्ब ४ करोड रुपैयाँ राजश्व संकलन भएको छ । पूँजीगत लाभकर अन्तर्गत २९ करोड २४ लाख रुपैयाँ संकलन भएको छ भने ७१ करोड ८७ लाख रुपैयाँ रजिष्टेशन दस्तुर संकलन भएको हो ।

 

उपत्यका भित्र ललितपुर जिल्लामा मात्र ५ महिनाको अवधिमा कुल ५८ करोड ८२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । १८ करोड ४८ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । भने रजिष्टेसन दस्तुर अन्तर्गत ३९ करोड ७९ लाख रुपैयाँ संकलन भएको छ ।भक्तपुर मालपोत कार्यालयबाट घरजग्गा कारोबारका क्रममा कुल ३० करोड १० लाख रुपैयाँ राजश्व संकलन भएको तथ्यांकले देखाएको छ । १९ करोड ४३ लाख रुपैयाँ रजिष्टेशन दस्तुर संकलन भएको छ भने पूँजीगत लाभ कर अन्तर्गत ९ करोड ८० लाख रुपैयाँ संकलन भएको छ ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा कुल ३४ अर्ब ६८ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । उपत्यका भित्र गत आव २०७६/७७ मा घरजग्गा कारोबारका क्रममा १४ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७५/७६ मा उपत्यका भित्रबाट १० अर्ब ४७ करोड ७९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

 

Advertisement Section