काठमाडौं । नेपाल वायुसेवा निगमले २०३० भित्र निगमलाई नाफा तर्फ लैजान १० वर्षे एकीकृत व्यवसायिक योजना बनाएको छ । सो योजना आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका छन् ।
१० वर्षे एकीकृत व्यावसायिक योजनाले निगम कुन बाटोमा हिँड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले उक्त राजमार्गबाट दायाँबायाँ नगरी अहिले घाटामा रहेको निगमलाई व्यवसायिक रुपमा सफल बनाउनु पर्ने बताए ।
निगमका महाप्रबन्धक प्रकाश पौडेलले सन् २०२१ देखि २०३० सम्मको व्यवसायिक योजनाले निगम शुरूका तीन वर्ष नोक्सानै रहने भएता पनि सन् २०२४ बाट नाफामा जाने बताए ।
२०३० सम्म वार्षिक ५ अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ । उक्त कार्ययोजना अनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड रुपैयाँ खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
निगमले सो योजना अनुसार २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडान तर्फ सिड्नी, कोलम्बो, संघाई, इन्डोनेसिया, रियाद लगायत ८ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारोबडी ४ वटा र वाइडबडी २ वटा गरी ६ जहाज आवश्यक पर्ने जनाएको छ ।
त्यस्तै, आन्तरिक उडान तर्फको सुधारका लागि पनि काठमाडौं, नेपालगंज, पोखरा र विराटनगरलाइ पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
नेपाल सरकारको १५ औं पंचवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यवसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर व्यावसयिक योजना तयार पारिएको महाप्रबन्धक पौडेलले बताए ।
योजना प्रतिवेदनमा निगमको वित्तीय अवस्था, बजार विश्लेषण, कोभिड–१० ले निगममा पारेको असर, नेपाल सरकारबाट गरिएको अपेक्षा लगायतका विषयवस्तुलाई सुक्ष्म रूपमा उल्लेख गरिएको छ ।