नेपाली खाना विश्वभर चिनाउँदै सेफ सन्तोष, कला देखाउन ढाकाटोपी लगाउने रहर

काठमाडौं । अहिले नेपाली सेफ सन्तोष शाह निकै चर्चामा छन् । नेपालका रैथाने खानेकुराहरूमा आफ्नै सृजनशीलताको लेप लगाएर विश्वका ठूला सेफहरूलाई समेत प्रभाव पार्न सकेका कारण उनी अहिले चर्चाको पात्र बनेका हुन् ।

 

नेपालका अहिले झट्टै नाम लिन सकिने एकजना पनि सेलिब्रेटी सेफ नभएको अवस्थामा सन्तोषले आफ्नो सृजनशीलताको माध्यमबाट युके मास्टर सेफको अन्तिम चरणमा पुग्न सफल भएका छन् । यो पक्कै पनि सबै नेपाली र विशेषगरी नेपाली खानाका पारखीहरूका लागि सुखद आश्चर्यको विषय भएको छ ।

 

उनी अहिले पनि नेपाली खाना र यहाँका विविध संस्कृतिहरूका बारेमा खोज र अनुसन्धान गरिरहेका छन् । मास्टर सेफ कार्यक्रमले अनुमति दिएको अवस्थामा फाइनलमा नेपाली ढाका टोपी लगाउन मन लागेको बताउँछन् उनी ।

 

अहिले प्रतिष्ठित प्रतियोगिताको अन्तिम चरणमा पुगेका सेफ सन्तोषको शुरूआती जीवन भने त्यति सहज थिएन । सानैमा आफ्ना बुबा गुमाएका सन्तोष नेपालमा पाउरोटी र पोलिथिनको ब्याग बेचेर दैनिक २०-२५ रूपैयाँ आम्दानी गर्थे ।

 

नेपालका फलामे ढोका भनेर केटाकेटीलाई अत्याइने एसएलसीको परीक्षामा उनी असफल भएका थिए । त्यसपछि उनी १५ वर्षको कलिलो उमेरमै भारतको गुजरातमा गएर भाँडा माझ्न थाले । त्यसैबाट उनी केही पैसा र आफ्नो खाने बस्ने बन्दोबस्त गर्दथे । त्यो समय उनी भाँडा माझेर मासिक ९०० भारु कमाउँथे ।

 

९०० भारु कमाउँदा पनि खुसी रहेका सन्तोषले जब सेफको युनिर्फम र टोपी लगाएका मानिसहरूले मासिक १६ हजार भारु तलब खाने गरेको चाल पाए, उनमा पनि सेफ हुने रहर पलाएको थियो ।

सेफ बन्ने रहर भित्रभित्रै पालेर बसेका सन्तोषले एकदिन उनको कार्यकारी सेफलाई आफूलाई पनि ‘सेफ डिपार्टमेन्ट’मा काम गर्न मन लागेको कुरा सुनाए । कार्यकारी सेफले उनको कुरा माने र उनलाई तन्दुरी रोटीको लागि पिठो मुछ्न र कोइला तयार पार्न अह्राए ।

 

त्यहाँ केही समय काम गरेपछि उनी अर्को होटलमा काम गर्न गए । उक्त होटलमा सेफ ट्रेनङ इन्सटिच्युट पनि थियो । त्यहाँ उनले केही समय काम गरेर डिप्लोमा पनि हासिल गरे । त्यसपछि उनले अङग्रेजी भाषा जाने मात्र उच्च पदहरूमा पुग्न सकिने ठाने र विभिन्न ३ ठाउँमा अङ्ग्रेजी भाषाको तालिम लिए ।

 

त्यसपछि उनले जागिरको लागि धेरै ठाउँहरूमा अन्तर्वार्ता दिए र अन्ततः कार्यकारी सेफको रूपमा काम पाए । भाँडा माझ्ने ‘किचेन ह्याण्ड’को भूमिकाबाट शुरू भएको उनको यात्राले करिब ७ वर्षमै छलाङ लगायो । सन् २००७ सम्म आइपुग्दा उनको तलब ४० हजार भारु पुगिसकेको थियो भने उनको मातहत करिब ७० जनाले काम गर्थे ।

 

उनलाई त्यसपछि भारतमा मात्र बसेर हुन्न भन्ने लाग्यो र अन्य देशहरूमा पनि राम्रो अवसरहरू खोज्न थाले । यसै मेसोमा उनी मेन्टेनेग्रोसम्म पुगे । त्यहाँ उनी त्यति खुसी भएनन् र फेरी भारत नै फर्किए ।

 

यसैबीच एकदिन उनलाई एकदिन गुजराती होटल व्यवसायीले लण्डन आएर काम गर्न प्रस्ताव गरे । उनले भिसा पाए पनि । तर, लण्डन जानु अघि उनी आफ्नो जन्मभूमि सिराहा पनि आएका थिए, आफ्नी आमालाई भेट्न । आमाको आर्शिवाद लिएर आफ्नो ठूलो सपना पछ्याउँदै उनी लण्डन उडेका थिए ।

 

लण्डनमा उनलाई शुरूवाती अवस्थामा त्यति सजिलो भएन । अतिरिक्त समय काम गरेको पैसासम्म पनि पाएनन् उनले ।उनले त्यहाँ काम गरेको रेष्टुरेन्टले भारतीय खाना बेच्दथ्यो, तर फ्रेन्च स्टाइलमा पकाएर ।

 

यही समयमा हो उनले नेपाली खानाहरूमा पनि सृजनात्मक प्रयोगहरू गर्न सकिन्छ कि भनेर सोच्न थालेको । मास्टर सेफमा प्रतिस्पर्धा गर्न आउनु पछाडिको मुख्य कारण पनि नेपाली खानाको प्रर्बद्धन गर्नु नै रहेको बताउँछन् सन्तोष ।‘मैले यो प्रतिष्ठित प्रतियोगितामा नेपाली खानाको प्रबद्र्धन गर्न पाउँदा निकै गौरव लागेको छ । यसले मलाई धेरै आनन्द दिएको छ,’ उनी भन्छन् ।

 

उनलाई नेपाली खानाले पाउनुपर्ने जति बजार र सम्मान पाएको छैन भन्ने लाग्छ रे । त्यसैले उनी नेपाली खानाको प्रबद्र्धन गर्न पाउँदा निकै आनन्द लागेको बताउँछन् ।

 

हार्नु जित्नु भन्दा पनि समस्त नेपालीहरूको आर्शिवाद र सहयोग महत्वपूर्ण रहेको बताउँछन् उनी । विश्वले यो कार्यक्रमबाट नेपाली खानाको मिठास थाहा पाउने उनको विश्वास छ ।

 

उनी अहिले पनि नेपाली खाना र यहाँका विविध संस्कृतिहरूका बारेमा खोज र अनुसन्धान गरिरहेका छन् । मास्टर सेफ कार्यक्रमले अनुमति दिएको अवस्थामा फाइनलमा नेपाली ढाका टोपी लगाउन मन लागेको बताउँछन् उनी ।

सेयर बजारमा उछाल, लगानीकर्ता यस कारण नेपाल लाइफमा झुम्मिँदै Read Previous

सेयर बजारमा उछाल, लगानीकर्ता यस कारण नेपाल लाइफमा झुम्मिँदै

निगमको १० वर्षे योजना : वार्षिक साढे ५ अर्ब नाफा, ६ वटा जहाज थप्ने Read Next

निगमको १० वर्षे योजना : वार्षिक साढे ५ अर्ब नाफा, ६ वटा जहाज थप्ने