काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गतसाता करिब १०० अंकले घटेको बजार यस साताको दुई दिनमै करिब १०२ अंकले बढेको छ ।
सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै बढोत्तरी आएको छ । आइतबारको तुलनामा आज कारोबार रकम करिब २ अर्ब ३१ करोड रुपैयाँले बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा पुगेको छ । यसदिन २०२ कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत समूह बाहेक अन्य सबै समूहको परिसूचक हरियो भएका छन् । आज जीवन बीमा समूहको परिसूचक १०३३.१२ अंकले बढेको छ भने जलविद्युत् समूह २१.१५ अंकले घटेको छ ।
आज कारोबार भएका कुल २०२ कम्पनी मध्ये १४६ कम्पनीको मूल्य बढेको छ भने ४२ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ७४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कम्पनीले दुई वर्षको लाभांश दिन बाँकी रहेकाले राम्रै लाभांश दिने आँकलन गर्दै लगानीकर्ता यसको सेयरमा झुम्मिएका हुन् ।विगतका वर्षहरुमा पनि आकर्षक लाभांश दिँदै आएकाले यस कम्पनीप्रति लगानीकर्ताको विश्वास रहेको देखिन्छ ।
कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ४६ करोड र नेशनल लाइफ इन्स्योरेन्स ४२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
बढ्दो बजारमा आज १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्राइम लाइफ, ग्लोबल आइएमई लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्त, शिखर इन्स्योरेन्स, एनएमबी, सपोर्ट माइक्रोफाइनान्स, महुली सामुदायिक, लक्ष्मी उन्नति सहकार्य लघुवित्त कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.७९ प्रतिशतले घटेको छ ।