काठमाडौं । चोभारमा बन्दै गरेको आधुनिक सुख्खा बन्दरगाह पनि समयमै निर्माण पूरा नहुने रोगबाट ग्रसित भएको छ । ठेक्का सम्झौता अनुसार असार मसान्तमै सम्पन्न हुनुपर्ने काम हालसम्म आधा मात्र पूरा भएको हो ।
१८ महिना भित्र निर्माण पूरा गर्ने भनिएको सुख्खा बन्दरगाह निर्माणको हालसम्म भौतिक प्रगति ५५ प्रतिशत मात्र पूरा भएको छ भने ३८ प्रतिशत मात्र वितीय प्रगति भएका छ ।
स्थानीयको विरोध, जग्गा/मुआब्जा विवाद, कामदार अभाव, ठेकेदारको ढिलासुस्ती लगायत कारण बन्दरगाह निर्माणले गति लिन नसकेको हो ।
२०७५ माघ ३ गतेदेखि निर्माण शुरू भएको आयोजना २०७७ असार मसान्तसम्म सक्नुपर्ने सम्झौता थियो । तर, स्थानीयको विरोध, जग्गा/मुआब्जा विवाद, कामदार अभाव, ठेकेदारको ढिलासुस्ती लगायत कारण बन्दरगाह निर्माणले गति लिन नसकेको हो ।
हाल चोभार सुख्खा बन्दरगहा आगामी २०७८ जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाका सिनियर डिभिजन इन्जिनीयर आशिश गजुरेलले बताए ।
उनले हाल आयोजना अन्तर्गत स्टकिङ भवन, फाउन्डेसन निर्माण, साइड क्लियरेन्स, रिटेनिङ वाल बनाउने, विल्डिङ तथा सवारीसाधन राख्ने ठाउँ लगायतको निर्माणहरू सम्पन्न भइसकेको बताए ।
‘काम तीव्र गतिमा भइरहेको छ, अब आगामी जेठ मसान्तसम्मा निर्माण पूरा गर्ने छौँ,’ गजुरेलले चाणक्य पोष्टसँग भने । अब हुने कामहरूमा कुनै समस्या नआए यो काम समय अवधिमै सकिने उनले बताए ।
चोभारको सुख्खा बन्दरगाह निर्माण ठेक्का साक्क्षी, आसिस जेभीले लिएको छ । चिनियाँ र नेपाली ठेकेदार कम्पनीको संयुक्त ठेक्कामा बन्दरगाह बनाइँदै गरेको उनले बताए ।
८०० रोपनी क्षेत्रफलमा बन्न लागेको चोभार सुख्खा बन्दरगाहमा ६०० भन्दा बढी कन्टेनर राखिने छन् भने २०० बढी ट्रक पार्किङ गर्न सकिने उनले जानकारी दिए । यस्तै बन्दरगाहमा भन्सार, बैंक, क्वारेन्टाइन, गोदाम, जाँचपास कक्ष लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिने गजुरेलले बताए ।
१८ महिना भित्र निर्माण पूरा गर्ने सम्झौतामा उल्लेख गरिएको थियो भने हाल आगामी जेठसम्मका लागि म्याद थप भएको छ । विश्व बैंकले १५.५ मिलियन अमेरिकी डलर लगानी गर्ने अर्थमन्त्रालय र विश्व बैंकबीच सम्झौता भएअनुसार उक्त बन्दरगाह निर्माण धमाधन अघि बढेको छ ।
सरकारले हिमाल सिमेन्टको सरकारी जग्गामा बन्दरगाह निर्माण गर्न लागेको भएपनि स्थानीयवासीले त्यसमा आफ्नो २१५ रोपनी हाराहारीमा जग्गा रहेको र सरकारले हडपेर बन्दरगाह निर्माण गर्न लागेको आरोप लगाउँदै आएका छन् ।