काठमाडौं । एनसीसी बैंकले दुई आर्थिक वर्षको साधरण सभा एकै साथ बोलाएको छ । बैंकको २० औँ र २१ सौँ वार्षिक साधारण सभा भदौ २३ गते राष्ट्रिय सभा गृहमा बिहान ११ बजे हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ (आइतबार) बुक क्लोज गर्ने भएको छ । जस अनुसार साउन २३ गते (बिहीबार) सम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १५.८९%बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै कम्पनीले एफपीओ निष्काशनको व्यवस्था गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजाने छ ।
त्यस्तै, साधारण सभाले बैंक सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।यसैगरी, साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई अख्तियारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
एनसीसी बैंकले हाल कायम चुक्ता पूँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ रहेकाे छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।