उद्योगीले उखु किसानलाई ढाँटेको ढाँट्यै, अझै पाएनन् भुक्तानी

सर्लाही । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन ।

 

केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् ।

 

काठमाडौँमा राष्ट्रपति, उद्योग मन्त्री र उद्योगका जिम्मेवारी अधिकारीलाई भेटेर एक साताअघि घर फर्किएका धनकौलका किसान रामकल्याण यादवले उद्योगले धोका दिएको बताए । उनका अनुसार यसपटक पनि चिनी मिलले धोका दिएर किसानलाई निराश पार्यो । सर्लाहीका अधिकांश किसानको आम्दानीको विशेष स्रोत, नगदेबाली उखु रहेको र त्यही उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको गुनासोे छ ।

 

‘छठ अगाडि पैसा पाइएला भन्ने आशामा बसेका थियौँ । दिन्छु पनि भनेको थियो तर यसपटक पनि धोका भयो । हामीलाई चिनी मिलले ढाँट्यो,’ उनले बताए । गत वर्ष सञ्चालनमै आउन नसकेको उद्योगले तीन/चार वर्षअघिदेखि नै किसानसँग किनेको उखुको रकम भुक्तानी गर्न बाँकी छ ।

 

भाका राखेर सो उद्योगले किसानलाई बारम्बार ढाँट्ने काम मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासङ्का केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

 

समयमै भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई वर्षौंसम्म रुवाइरहेका अध्यक्ष मैनालीको भनाइ छ । उद्योगले थोरै रकम देखाए पनि अन्नपूर्णले करिब ३० करोड रुपैयाँ र महालक्ष्मीले करिब ६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानले बताउँदै आएका छन् ।

 

राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाईसमेत पटकपटक गुहार्दा पनि चिनी उद्योगबाट उखु बेचेको रकम भुक्तानी नहुँदा जिल्लाका उखु उत्पादक किसान निराश भएका छन् ।

 

किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक पुनः सञ्चालन गर्न उखु क्रसिङ गर्नेगरी प्रविधि मर्मतको काम भइरहेको छ । तीन/चार वर्ष पहिला देखिको किसानका भुक्तानी बाँकी राखेका उद्योग फेरि सञ्चालनको तयारी गर्न किसानका लागि थप पीडा दायी हुने किसानको भनाइ छ ।

 

किसानले पटकपटक आन्दोलन गर्दा पनि यी दुई उद्योगले किसानको भुक्तानी गर्न आनाकानी गरिरहेका छन् ।रासस

४ महिनामा भित्रियो ४ खर्बको सामान, निर्यात ४० अर्ब मात्र Read Previous

४ महिनामा भित्रियो ४ खर्बको सामान, निर्यात ४० अर्ब मात्र

सेयर बजारको ऐतिहासिक रेकर्ड तोडिन ७ अंक बाँकी,  नेप्से साढे ४ वर्ष यताकै उच्च Read Next

सेयर बजारको ऐतिहासिक रेकर्ड तोडिन ७ अंक बाँकी, नेप्से साढे ४ वर्ष यताकै उच्च