व्यावसायिक व्यक्ति हुँ, मसँग महासंघलाई हाक्ने स्पष्ट भिजन छ  : चन्द्रप्रसाद ढकालको अन्तर्वार्ता

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा उभिएको छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरू प्यानलसहित चुनावी माहोलमा होमिएका छन् । महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएसँगै शेखर गोल्छाले आगामी मंसिर १४ गतेबाट महासंघको नेतृत्व गर्ने छन् ।

 

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा उत्रिएका छन् ।  व्यवसायीक क्षेत्रमा देखिएका समस्या समाधानका लागि भविष्यमा गर्ने पहलकदमी, भावी नीति, वैचारीक मुद्दा लगायत विषयमा उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश :

 

आसन्न निर्वाचनमा प्यानलै सहित तपाईंको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ, तपाईंले उठाउनुभएको मुख्य एजेण्डाहरू के-के हुन् ?

 

म वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुँ । म अहिले नै कार्यकारी नेतृत्वमा पुग्ने जसरी आफ्नो एजेण्डा भनेर त भनेको छैन । तर, महासंघमा गइसकेपछि हामीले गर्ने काम धेरै नै छन् । सर्वप्रथम त कोभिड–१९ को माहामारीले नेपालको आर्थिक क्षेत्रमा निकै गम्भीर असर पारेको छ । हामी महासंघका तर्फबाट नेपालको उद्योग, व्यवसायमा के असर पार्यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस योजना ल्याउने छौं ।

 

त्यस्तै अर्को महत्वपूर्ण काम भनेको महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रूपमा विकास गर्नु हो । देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तसर्थ, राज्यसँग अर्थपूर्ण साझेदारी एवम् निति निर्माणमा पैरवीका लागि महत्वपूर्ण पहलकदमी लिनुपर्ने छ । नेपालमा एफडीआई भित्र्याउनका लागि लगानी मैत्री वातावरण सृजना गर्ने र नेपाली उद्योगी व्यापारी साथिहरूलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन योजनाबद्धरूपमा अगाडि बढ्नुपर्ने छ ।

 

साना तथा मझौला उद्योगमा ठूला लगानी गरेर रोजगारी सृजना गर्ने र नेपालमा आर्थिक समृद्धि ल्याउने एजेण्डा बनाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । म व्यवसायिक व्यक्ति हुँ । सानो व्यवसाय शुरू गरेर अहिलेको अवस्था आइपुगेको छु । मसँग सबै व्यवसायका अनुभव छन् । यसले सबैका साझा समस्या र चुनौती मलाई राम्रोसँग ज्ञान छ । तिनै समस्या, चुनौती समाधान गर्न सकियो भने मात्र पनि पुग्छ । मसँग महासंघमा गएर गर्ने स्पष्ट एजेण्डा छन् ।

 

 

साधारणसभा र निर्वाचनका लागि केहीदिन मात्र बाँकी छ । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको अवस्था छ । सहमतिको सम्भावना अझै छ ?

 

मेरो तर्फबाट सहमतिको सम्भावना अन्तिमसम्म रहन्छ । निर्विरोध हुन्छु भन्ने लागेको छ । सहमति हुन नसेको अवस्थामा स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नेछु ।

 

महासंघमा १० वर्ष मात्र काम गरेको व्यक्तिले २८ वर्ष काम गरिसकेको व्यक्तिसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कस्तो महशुस गर्नुभएको छ ?

 

महासंघमा को कति वर्ष रह्योभन्दा पनि कसले पदिय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्यो र आम उद्योगी, व्यवसायीका समस्याप्रति जानकार र समाधानका लागि पहल गर्न सक्ने सक्षम व्यक्ति को हुन सक्छ भन्ने विषयमा समिक्षा गरिनु पर्दछ जस्तो लाग्छ मलाई । उमेरका हिसाबले र महासंघमा बिताएका समय दौरानका हिसाबले म उहाँप्रति सम्मान व्यक्त गर्दछु । तर हामि नयाँ, समावेशी र सक्षम युवा टिम लिएर निजी क्षेत्र हाँक्ने भिजन लिएर हिँडेका छौं । उहाँले हामीलाई सहयोग गर्नुपर्दछ ।

 

महासंघको वर्तमान अध्यक्ष, भावि अध्यक्ष र अन्य पूर्वअध्यक्षहरूले अर्का उम्मेदवार किशोर प्रधानका पक्षमा खुलेर बोल्नुभएको छ । तैपनि तपाईं निर्वाचन नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त हुनुहुन्छ । कसरी ?

 

प्रचार गरिएजस्तो धेरै पूर्वअध्यक्षहरूले अर्को पक्षलाई समर्थन गरिरहेको कुरा म मान्न तयार छैन । म उहाँहरूसँग नियमित सम्पर्कमा छु । एकदुईबाहेक सबै पूर्वअध्यक्षको सहयोग र शुभेच्छा रहेको छ । कुनै एउटा समुह विशेषप्रति वहाँहरूले जनाउनुभएको समर्थनले मलाई दबाब सृजना गरेको छैन । देशैभरिका उद्योगी व्यवसायी साथीहरूबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावले मलाई बलियो ढाडस र ऊर्जा दिएको छ ।

 

मेरो प्यानलका दुई साथीहरू त निर्विरोध निर्वाचित भइसक्नुभएको छ । वरिष्ठ उपाध्यक्षमा दिइएको मेरो उम्मेदवारीमा सानादेखि ठूला उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूले अपनत्व महशुस गर्नुभएको छ र उत्साहित हुनुहुन्छ । म सधैं व्यवसायिका हक, हित र अधिकारका पक्षमा लाग्ने हुनाले सबै व्यवसायी साथीहरूले मलाई नेतृत्वमा आउन आग्रह गर्नुभएको हो । वहाँहरूले मलाई साझा उम्मेदवारका रूपमा हेर्नुभएको छ । यसलाई म चुनाव जित्ने बलियो आधारको रूपमा लिएको छु ।

 

तपाईं महासंघको वर्तमान उपाध्यक्ष पनि हुनुहुन्छ । महासंघमा रहेर तपाईंले हालसम्म के कस्ता कामहरू गर्नुभयो ?

 

मेरो पद र कार्यक्षेत्र अनुसारको भूमिका मैले पूरा गरेको छु । महासंघमा म पहिलो पटक कार्यसमिति सदस्यमा निर्विरोध र दोस्रो पटक सबैभन्दा बढी मत ल्याएर विजयी भई कार्यसमिति सदस्य भएँ । हाल म महासंघको उपाध्यक्षका रूपमा छु । मैले रोजगारदाता परिषद्को सभापतिको हैसियतले काम गरिरहेको छु । रोजगारदाता परिषद्को सभापति भएपछि मजदूर र रोजगारदाताको सम्बन्धमा धेरै सुधार भएको छ । श्रम ऐन आयो, सामाजिक सुरक्षा कोष कार्यान्वयन भयो । धेरै विवाद नभई श्रमिकको न्यूनतम ज्याला निर्धारण भयो ।

 

प्रादेशिक संरचनाअनुसार महासंघका ७ वटै प्रदेशका कार्यालयमा पूर्वाधार विकास गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग मिलेर धेरै कार्यक्रम गरेको छु । जिल्ला–नगर उद्योग वाणिज्य संघका साथीहरूलाई सीप विकास, अवलोकनलगायत धेरै कुरामा काम गरेको छु । कोभिड–१९का कारण गरिएको लकडाउन अवधिको ५० प्रतिशत तलब दिने सहमति गराएको थिए ।

 

विगतको महासंघको साख कायम गर्न र छवि सुधार गर्न के कस्तो योजना बनाउनुभएको छ ?

 

गैरराजनीतिक क्षेत्रमा हुने राजनीतिले हामी कसैलाई भलो गर्दैन । हामी व्यवसायी हौँ । हामीले त्यस्तो व्यावसायिक हित सोच्नुपर्छ, जसले मुलुकको दिगो विकास र समृद्धिमा टेवा पुग्न सकोस् । महासंघको जुन छवि थियो, त्यो सर्वसाधारणमा र सरकारसँग अवश्य पनि कम भएकै हो । यसमा हामी सबै भागीदार छौं । विभिन्न कारण महासंघप्रति हेर्ने दृष्टिकोण फरक परिरहेको छ । त्यसकारण म आइसकेपछि महासंघको नेतृत्वप्रतिको हेराइमा केही न केही परिवर्तन गर्नेछु । हाम्रो समूह समावेशी हुनुका साथै उद्योग व्यवसायको मर्म बुझेका व्यक्तिहरू हुनुहुन्छ । हामीले भौगोलिक र व्यावसायिक हिसाबले समावेशी समूह बनाएका छौं । महासंघलाई सबै उद्योगी, व्यवसायीमात्रै नभएर पेशागत लगानीकर्ताहरूको साझा संस्था बनाउन हामि प्रतिबद्ध छौं ।

 

अन्त्यमा, चुनावको लक्षित अभियानहरूमा व्यापकरूपमा अगाडि बढ्नुभएको छ । नयाँ नेतृत्वप्रति आम मतदाताहरूको अपेक्षा के कस्तो पाउनुभयो ?

 

देशैभरीका उद्योगी, व्यवसायीले महासंघका काम कारबाहीलाई प्रभावकारी बनाउन महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्दछ भन्ने आवाज उठाइरहनुभएको छ । देशमा औद्योगिक तथा व्यवसायिक वातावरण बनाउनु पर्ने छ । नयाँ नेतृत्वले निजी क्षेत्रका समस्या नजिकबाट बुझोस् र समस्याको सम्बोधन गर्नसक्ने होस् भन्ने आम मतदाताको अपेक्षा रहेको छ । वहाँहरूको अपेक्षा र हाम्रा उद्देश्य साझा छन् । म देशै भरिका व्यवसायी साथीहरूलाई भेटघाट गर्न सक्रिय छु । उद्योगी, व्यवसायी साथीहरूकै सक्रियतामा देशका विभिन्न स्थानहरूमा चुनाव लक्षित कार्यक्रमहरू भैरहेका छन् । हामिले हाम्रो एजेण्डाहरू प्रष्टसँग राखेका छौँ, सँगसँगै ती एजेण्डाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौं ।

ज्योति ग्रपले ल्यायो ‘द ब्रुकलेन क्रिमरी’, यस्तो छ मूल्य Read Previous

ज्योति ग्रपले ल्यायो ‘द ब्रुकलेन क्रिमरी’, यस्तो छ मूल्य

सेयर बजार ४ वर्ष यताकै उच्च, यी कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजार ४ वर्ष यताकै उच्च, यी कम्पनीका लगानीकर्ता भए मालामाल