निवर्तमान अध्यक्ष हुँदा कति हस्तक्षेप गरेँ र भोलि पनि गर्छु : पशुपति मुरारकाको अन्तर्वार्ता
चाणक्य पोष्ट
प्रकाशित : 7:42 am, शुक्रबार, मंसिर ५, २०७७

नेपाल उद्योग वाणिज्य महासंघमा अहिले निर्वाचनको माहोल तातेको छ । आगामी ११, १२ र १३ गते महासंघको ५४ औं वार्षिक साधारण सभा हुँदैछ । उक्त साधारण सभाको कार्यतालिका अनुसार आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयनको लागि मंसिर १३ गते निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ ।

 

यही परिप्रेक्षमा महसंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकासँग अहिलेको निजी क्षेत्रको वैचारिक धरातल, उनीमाथि लाग्दै आएको विभिन्न हस्तक्षेप गर्छ भन्ने आरोप र निजी क्षेत्रले लिनु पर्ने नयाँ बाटो लगायत विषयमा चाणक्य पोष्टका लागि ब्रबिम बिक्रम थापाले गरेको कुराकानीको संम्पादित अंशः

 

नेपाल उद्योग वाणिज्य महासंघको चुनावको संघारमा अहिले निजी क्षेत्र उभिएको छ । तपाईंलाई चाहिँ चुनाव कत्तिको लागेको छ ?

 

निर्वतमान अध्यक्षको हैसियतमा छु म । त्यसैले चुनाव पटक्कै लागेको छैन भनेर म भन्दिन । साथीभाइहरु आउँछन्–जान्छन् । सामान्य प्रक्रिया हो । आफूपनि व्यवसायी भएको र यो संस्थाको सदस्य पनि भएको नाताले उपयुक्त मानिस नेतृत्वमा आओस् भन्ने चाहना पनि छ मेरो ।

 

चुनाव तपाईंलाई अलि धेरै नै लागेको छ । धेरै नै दाैडधुप गर्नुभएको छ भन्ने चर्चा छ नि बजारमा ?

 

त्यस्तो धेरै दाैडधुप गरेको त होइन । म अफिसबाट खासै बाहिर जान्न । तर, पनि केही साथीभाइलाई सहयोग गरिरहेको छु । त्यसैका लागि एकाध ठाउँमा गएको पनि छु । यद्यपि बाहिर हल्ला भएजसरी नै दाैडधुप गरेको भने होइन ।

 

यो धेरै दाैडधुपको प्रश्न किन पनि महत्वपूर्ण छ भने जुन खाले प्रवृत्तिसँग (पूर्व अध्यक्ष निर्णायक ढंगले नै लामो समयदेखि हावी भइरहेको अवस्था) तपाईंहरु लामो समय लडिरहनु भयो वा भनौं त्यो प्रवृत्तिबाट पिल्सिरहनु भयो र कालान्तरमा त्यो प्रवृत्तिको नयाँ संस्करण तपाईं आफैं पो हुन लाग्नु भयो की भन्ने शंका पो हुन थालेको छ नी मानिसहरुलाई ?

 

(हाँस्दै) यो शंकामा कुनै सत्यता छैन । कसैले यो विषय प्रचार गरेको छ भने म त्यसलाई दुष्प्रचार नै भन्छु । म धेरै ठूलो व्यापारी नभए पनि एउटा आकारको व्यसायको नेतृत्वमा त छु नि । त्यसैले मलाई धेरै फुर्सद पनि हुँदैन ।

 

‘शोषित नै नभएपछि शोषक बन्ने चाहना हुने नै भएन नि ।’

 

निर्वतमान अध्यक्षको रुपमा पनि मैले महासंघमा कति हस्तक्षेप गरें त्यो सबैलाई थाहा भएकै कुरा हो । यो निर्वाचन पछि त म अझ पूर्वअध्यक्ष मात्र हुने हो । त्यसपछि मेरो भूमिका अझै घट्छ ।

 

अब जो अध्यक्ष आउँदै हुनुहुन्छ, वहाँ आफैंमा सक्षम व्यक्ति हुनुहुन्छ । वहाँको आफ्नै क्षमता छ, गुण छ । मैले वहाँलाई धेरै नजिकबाट चिनेको छु । वहाँ त्यस्तो हस्तक्षेप रुचाउने मानिस पनि होइन । त्यसैले यो अनावश्यक हल्ला हो, जसलाई मैले गम्भीरतापूर्वक लिएको छैन ।

 

एकजना दार्शनिकले भनेका छन्, ‘सबै शोषित भित्र शोषक बन्ने चाहना लुकेको हुन्छ ।’ लामो समय महासंघ त्यस्तै प्रवृत्तिबाट पिल्सिएका कारण तपाईं भित्र पनि सोझै नभएपनि अचेतन वा अवचेतन मष्तिष्कमा त्यस्तै खाले प्रवृत्ति बनेर शक्तिमा रहने चाहना विकास हुँदै पो गएको छ कि भनेको ?

 

म अध्यक्ष भएर धेरै लामो समयसम्म बसेको होइन । मेरो कार्यकाल २ वर्षको छोटो थियो । अनी मेरो कार्यकालमा कसैले पनि मलाई यो गर वा नगर भनेर हैकम चलाउन सकेन । मैले सबै काम आफनै ढंगले गरें । त्यसैले म त्यति पिल्सिएको पनि होइन । अब ‘शोषित नै नभएपछि शोषक बन्ने चाहना हुने नै भएन नि ।’

 

अब प्रसंग बदलौं । महासंघ नेपालको ठूलो र पुरानो संस्था हो । पछिल्लो समय नेपालमा धेरै राजनीतिक, सामाजिक र आर्थिक परिर्वतनहरु भएका छन् । यस्ता परिर्वतनहरुसँग तादम्यता राख्नको लागि महासंघले आफ्ना विचारहरुलाई कत्तिको अद्यावधिक गरेको छ ? वा भनौं, अहिलेको नेपालको लागि महासंघले बोकेका विचारहरु कति सान्दर्भिक छन् ? त्यसमा केही परिर्वतनको पो खाँचो छ कि ?

 

महासंघको विचारलाई अद्यावधिक गर्नै पर्छ, त्यसमा कुनै शंका छैन । तर, त्यसका लागि महासंघमा कहिलेदेखि वैचारिक विचलन आउन थाल्यो भनेर खोतल्नुपर्ने हुन्छ ।

 

पछिल्लो स्थानिय निकायको चुनावअघि नेपालमा लामो समयसम्म स्थानिय निकायको चुनाव भएन । गाउँगाउँमा निर्वाचित संस्था भनेको उद्योग वाणिज्य संघहरु मात्र थिए । त्यसैले मानिसहरुले राजनीति गर्नको लागि महासंघलाई आफ्नो ‘प्लेटर्फम’ बनाउन थाले ।

 

त्यो समय जिल्ला नगरका उमेद्वार हेर्नुभयो भने उनीहरु राजनीतिक दलबाटै टिकट लिएर आउने अवस्था थियो । त्यसले गर्दा शक्तिका भोका मानिसहरु महासंघको राजनीतिमा बढ्दै जान थाले । अनी त्यसको प्रभाव केन्द्रमा पनि पर्न थाल्यो । र, त्यसको परिणामस्वरुप महासंघ आफ्ना मुख्य उद्देश्यबाट भड्किन थाल्यो र आफ्नो मूल विचारबाट पनि च्युत हुँदै जान थाल्यो ।

 

यसै मौकामा केन्द्रमा पनि हामीले माथी चर्चा गरेको प्रवृत्ति हावी हुन थाल्यो । व्यक्ति विशेषको तजबिज र भूमिका महासंघको केन्द्रमा पनि पर्न थाल्यो ।

 

कतिपय ‘प्रपर बिजनेश पर्सन’हरु संस्थामा टाढिएको तपाईंले देख्नु भएकै होला । निजी क्षेत्र सम्बद्ध अन्य संस्थाहरुसँग पनि राम्रो ‘कोअर्डिनेशन’ हुन सकेको छैन ।

 

त्यसैले देशमा भएका ठूला परिर्वतनहरुसँग तादम्यता राख्ने विचारको विकास गर्दै निजी क्षेत्रलाई थप शक्तिशाली र परिर्वतित अवस्थामा अझ सान्दर्भिक बनाउने वैचारिक गतिविधिमा महासंघ लाग्नै सकेन ।

 

अब यसमा सबै तहका नेतृत्वले काम गर्नुपर्छ । यसमा कुनै शंका छैन ।

 

कुनै पनि संस्था बलियो हुनका लागि विचार र संगठन दुवै चुस्त हुनैपर्छ । विचारबाट च्युत हुँदै गएको कुरा त बताउनुभयो । त्यसरी विचारबाट च्युत हुँदै गर्दा त्यसको प्रभाव संगठनमा चाहिँ कस्तो पर्यो तपाईंको विचारमा ?

 

विचार बिग्रिएपछि त मानिसहरुको संस्थामा आवद्ध हुनुको उद्देश्यनै फरक परिहाल्छ । फरक उद्देश्य भएका मानिसहरु संस्थामा आउने बित्तिकै त संगठन पनि कमजोर हुने नै भइहाल्यो ।

 

त्यसैले कतिपय ‘प्रपर बिजनेश पर्सन’हरु संस्थामा टाढिएको तपाईंले देख्नु भएकै होला । निजी क्षेत्र सम्बद्ध अन्य संस्थाहरुसँग पनि राम्रो ‘कोअर्डिनेशन’ हुन सकेको छैन । आवाज फितलो भएको छ र संगठित प्रयास पनि हुन सकेको छैन । यसले समग्र संगठनको संरचान नै बिगारिदिएको कुरा साँचो हो ।

 

यसरी विचार र संगठन नै ठिक ठाउँमा नभएपछि त्यसको प्रभाव विधानमा पनि परेको देख्नुहुन्छ ?

 

वास्तवमा भन्ने हो भने विधानमा त्यति कमी कमजोरी छैनन् भलै हाम्रो विधान त्यत्ति प्रष्ट रुपमा व्याख्या गरिएको विधान चाहिँ होइन । त्यहाँ द्धिअर्थी लाग्ने कुराहरु पनि छन् । तर, प्रस्तावना, जसले हाम्रो उद्देश्यको व्याख्या गर्छ, प्रष्ट नै छ । तर त्यो पढ्ने समय कसलाई छ र ?

 

यो विधान मेरै पालामा संशोधन गरिएको हो । जुन उद्देश्यका साथ त्यसको संशोधन गरिएको थियो त्यसका अलिकति यताउता (डेभियशन) भएकै हो ।

 

संगठन भन्दा व्यक्ति प्रधान हुने, अनावश्यक रुपमा हावी हुन खोज्ने भएको हुँदा विधानको पनि गलत व्याख्या भएको मात्र हो । विधान आधारभूत रुपमै त्यति कमशल भने होइन ।

 

विधानको कुरा किन उठाएको भने महासंघ भनेको अध्यक्ष प्रधान संस्था हो । यहाँ अध्यक्षले नै प्रमुख कार्यकारीको हैसियतमा काम गर्छ । तर अहिले वरिष्ठ उपाध्यक्षका उमेद्वारहरु आफ्ना योजना र कार्यक्रमहरु अघि सार्दै हिँडेका छन् । त्यसैले विधानमा तपाईं विरोधाभास देख्नुहुन्न ?

 

यो विधानको सही व्याख्या होइन । यो विधान मेरै पालामा संशोधन गरिएको हो । जुन उद्देश्यका साथ त्यसको संशोधन गरिएको थियो त्यसका अलिकति यताउता (डेभियशन) भएकै हो ।

 

वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्दा त्यहाँ एउटा निरन्तरता हुन्छ, उसले ज्ञान हासिल गर्दे अध्यक्षको रुपमा काम गर्न परिपक्व हुन्छ भन्ने थियो । एकैपटक नयाँ मान्छे आयो भने त उसले धेरै कुरा बुझेको हुँदैन नि !

 

दोस्रो, नेपालमा धेरै ‘इगो’ पाल्ने चलन छ । कोहि मान्छे अध्यक्षमा सोझै जितेर आयो भने उसले आफुलाई भोट नदिने जिल्लाका प्रतिनिधिहरुसँग तुष साँध्ने कुरा हुन्छ । वा, जिल्लामा मान्छेहरुले पनि उसलाई सहयोग नगर्ने अवस्था हुन्छ । तर, अहिलेको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्षमा एक कार्यकाल बिताएर अध्यक्ष हुँदै गर्दा त जिल्लाको नेतृत्व परिर्वतन भइसकेको अवस्था हुन्छ र यस्ता इगोको समस्या पनि हुँदैनन् भनेर बिधानमा यो व्यवस्था गरिएको थियो ।

 

तेस्रो, वरिष्ठ उपाध्यक्ष भएपछि आफूपछि अध्यक्ष भएर चलाउने संस्थाको हितमा दत्तचित्त भएर काम गर्न प्रेरणा पनि हुन्छ भन्ने थियो ।

 

तर, सोच अनुसारको काम हुन सकेको देखिएन । अहिलेको विधानको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्षको चुनावमा प्यानल हुनु हुँदैनथ्यो । सोझै अध्यक्ष लड्दा प्यानल चाहिन्थ्यो किनभने अध्यक्षलाई त आफ्नो टिम चाहिन्छ नि !

 

तर अहिले वरिष्ठ उपाध्यक्षहरु प्यानलमा चुनाव लडेर यो गर्छु उ गर्छु भनिरहेका छन् । यो वाहियात कुरा हो । वरिष्ठ उपाध्यक्षले त अध्यक्षलाई सहयोग गर्ने मात्र हो । विधानको मर्म पनि यही हो । यसमा प्यानल हुनुहुँदैनथ्यो ।

 

तपाईंले अहिले जसरी उद्योग वाणिज्य महासंघको विधानको मर्मको बारेमा प्रकाश पार्नुभयो, त्यस अनुसार त अध्यक्षले रुचाएको मानिस वरिष्ठ उपाध्यक्ष भएर आयो भने चाहिँ संस्था बढी प्रभावकारी हुने देखियो नि होइन ?

 

पक्कै पनि । तपाईंको मिडियामा पनि त सम्पादकले रुचाएको संवाददाता भयो भने राम्रो समाचार बन्छ नि होइन ? मेरो कम्पनीमा पनि मैले रुचाएको म्यानेजर भयो भने न कम्पनीले सही दिशा लिन्छ ।

 

मुख्य नेतृत्वको सहयोगी नै उसको सबैभन्दा ठूलो विरोधी भइदियो भने संस्था कता जाला ? यो त मतदाताले पनि विचार गर्नुपर्ने कुरा हो । अझ विरोधी प्यानलनै विजयी भएर आयो भने त अध्यक्षले कामै गर्न सक्दैन । मुख्य मान्छे नै पङ्गु भयो भने संस्था कस्तो बन्छ ?

 

अब आउने अध्यक्षले महासंघको विचार र संगठन चुस्त बनाउनका लागि गर्नुपर्ने काम के-के हुन् तपाईंको विचारमा ?

 

महासंघको प्रमुख काम भनेको ‘पोलिसी लबिङ’ गर्ने हो । व्यवसायी माथि सरकारी तर्फबाट जुन किसिमको थिचोमिचो हुन्छ, त्यसका विरुद्ध लड्नका लागि शक्ति बढाउनु नै अबको अध्यक्षको प्रमुख काम हो ।

 

खुल्ला बजार अर्थतन्त्रमा पनि कहीँ सरकारले वस्तुको मोल तोक्छ ? यहाँ धेरै मानिसहरु दिमागबाट ‘दिग्भ्रमित कम्युनिष्ट’ जस्तै देखिन्छन् ।

 

ट्रेड युनियन, बैंक जस्ता संस्थाहरुको सँगको लेनदेनमा पनि अबको अध्यक्षले प्रमुख भूमिका निभाउनुपर्ने हुन्छ । विदेशी लगानीकर्ताहरुलाई नेपालका लगानी गर्नका लागि आकर्षित गर्न पनि अध्यक्षको भूमिका हुन्छ । तर, यसका लागि भने सकारात्मक माहौल बनाउनका लागि राज्यले नै अध्यक्षलाई सहयोग गर्नुपर्ने हुन्छ ।

 

राष्ट्र बैंकबाट आउने नीतिहरु बैंकहरुलाई मात्र हेरेर आइरहेको हुन्छ । श्रम सम्बन्ध सम्बन्धी मुद्दाहरुमा न्यायलयमा हामी सधैं हारिरहेका हुन्छौं । करका कुराहरु पनि छन् । यी तमाम विषयहरुमा अध्यक्षले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

 

अन्तमा, नेपालले पूँजीवादी अर्थव्यवस्था अंगिकार गरेको छ । तर, व्यवसायीहरु, उद्योगीहरु, पूँजीपतिहरु र तिनका संस्थाहरु भने राज्यका अगाडि निरिहजस्तै देखिन्छन् । किन होला ?

 

नेपालको संविधानले खुला बजार र अर्थव्यवस्थाको नीति लिएको छ । तर, व्यवहारमा भने त्यस्तो देखिएको छैन । बजारमा वस्तुको मोल तोक्न समेत सरकार अग्रसर भएको देखिन्छ । खुल्ला बजार अर्थतन्त्रमा पनि कहीँ सरकारले वस्तुको मोल तोक्छ ? यहाँ धेरै मानिसहरु दिमागबाट ‘दिग्भ्रमित कम्युनिष्ट’ जस्तै देखिन्छन् । संविधानकै सही व्याख्या भइरहेको छैन । त्यसैले यहाँ राज्य र निजी क्षेत्र बीचको शक्ति सन्तुलन बिग्रिएको छ ।

Advertisement Section